निजामती सेवाको प्रभावकारिता, आजको आवश्यकता « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

निजामती सेवाको प्रभावकारिता, आजको आवश्यकता


भुवन ज्ञावाली

१५ जेष्ठ २०७५, मंगलबार


परिश्रमलाई हल्का तवरले मूल्यांकन गर्नु हुँदैन । चाहे त्यो शारीरिक होस् वा मानसिक । अथवा दुवै किन नहोस् ।

परिश्रमलाई विभिन्न मानकका आधारमा सेवा, सुविधा, वृत्ति विकास तथा पैसासँग मापन गरी भुक्तान गरिन्छ, जुन सर्वमान्य परिपाटीभित्रै पर्छ । निजामती सेवामा पनि त्यहि परिपाटी पालना भएको पाइन्छ ।
निजामती सेवा राष्ट्रिय स्वार्थ पूरा गर्न बृहत लक्ष्य बोकेको कार्यकारी संयन्त्र हो, जसलाई नागरिकहरूलाई विभिन्न सेवासुविधा प्रदान गर्छ । यो सम्पूर्ण सेवाको मियो पनि मानिन्छ ।

निजामती सेवा समग्र सरकारी सेवाहरूको केन्द्रसमेत रहेकाले यसले अन्य सेवालाई मार्गदर्शन दिन्छ । जनतालाई सदैव प्रभावकारी ढंगबाट सेवा सुविधा प्रदान गर्न निरन्तर खटिरहने संयन्त्र हो । त्यसकारण राज्यको सफलता वा असफलता यसैमा निहित रहने कुरामा दुईमत छैन । निजामती सेवाले सेवाग्राही जनतामाझ सरकारको दह्रो उपस्थिति जनाउँछ । त्यसकारण निजामती सेवा र सेवाग्राही जनताबीच अन्योन्याश्रित सम्बन्ध छ ।

निजामती सेवा बौद्धिक परिश्रम भएको पेशा मानिन्छ । कर्मचारी आफ्नो ल्याकतले योग्यता परीक्षण गरेर सेवा प्रवेश गरेका हुन्छन् । यसमा भनसुन र टीका थापेर सेवा प्रवेश पाइँदैन । त्यसकारण निजामती कर्मचारीले आफ्नो परिश्रमको मूल्यांकन भएको महसुस गर्नुपर्छ । र, आफूलाई दिएको जिम्मेवारी प्रभावकारी तरिकाले पूरा गर्नुपर्छ ।

जनताको घरदैलोमै सेवाप्रवाह गरिरहेका निजामती कर्मचारीलाई फरक चस्माले हेर्नुभयो र राष्ट्रसेवक कर्मचारीहरूलाई निरिह र तुच्छ व्यवहार गर्नुभयो भने उनीहरूबाट सेवाप्रवाहको अपेक्षा कस्तो राख्ने ?

राष्ट्रले अवलम्बन गरेका हरेक क्रियाकलापलाई सदैव कार्यान्वयनको तहमा लैजान महत्वपूर्ण योगदान गरेको सरकारी सेवालाई निकै हेय र आलोचनाको रूपमा मात्र हेर्नुभयो भने केवल दायित्व सम्झेर मात्र बस्न सक्ने अवस्था रहँदैन/सक्दैन पनि । यसको प्रभावकारिताका लागि अवलम्बन गरिने क्रियाकलाप कस्तो रूपमा अगाडि बढाउने र सेवाप्रवाहबाट कसरी जनताको मन जित्न सकिन्छ, यो बहसको विषय बन्न सक्छ ।

कल्पना गर्नुहोस् त, सबै राष्ट्रसेवक कर्मचारीहरू आफ्नो पेशा छाडेर सडकमा आए भने के होला ? देश संघीय प्रणालीमा बामे सर्ने तरखरमै छ । यसका निकाय र संयन्त्रहरू निरन्तर निर्माणका क्रममा छन्, त्यसै अनुसार कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा छ । जनताको घरदैलोमा सेवाप्रवाहका लागि व्यावहारिक रूपमा उपस्थिति रहेको सेवा निजामती सेवा नै हो । जनताको सेवा गर्न यसको विकल्प छैन । करिब दुई दशकसम्म स्थानीय निकायमा स्थानीय प्रतिनिधि रिक्त रहँदा पनि कर्मचारीले सम्पूर्ण कार्यको नेतृत्व सम्हालेर सेवाप्रवाह गरेको कुरालाई नजरअन्दाज गर्न मिल्छ र ? देश नयाँ स्वरूपमा जाँदा पनि यसलाई सहर्ष स्वीकार गरी कार्यान्वयनको तहमा जाने यिनै कर्मचारी हुन् । सामान्य मूल्य र परिस्थितिलाई ख्याल नगरी किन कर्मचारीको मात्र दोष देखाइँदैछ, उनीहरूलाई त्रासमा राखिँदैछ ? यसको चुरो पत्ता लगाउन जरुरी छ ।

राष्ट्रसेवक कर्मचारीको वृत्तमा केही सीमित व्यक्तिले गरेको लाभलाई केन्द्रमा राखेर गर्ने कार्यले सम्पूर्ण वृत्तलाई एउटै टोकरीमा राख्नु कस्तो व्यावहारिक रहला ? हुन त नेतृत्व तहका केही कर्मचारीले नीतिगत रूपमै सीमित व्यक्तिको लाभका लागि मात्र काम गरेको पाइन्छ । कतिपय कर्मचारीले सेवाग्राहीसँग ‘रिसवत’ लिने र काममा ढिलासुस्ती गरेको पनि पाइन्छ । यसले समग्र सेवा नै भष्ट्राचार, अनियमितता, ढिलासुस्तीको रूपमा बुझिएको हुन्छ ।

निजामती सेवामा अर्काे समस्या पनि छ । जो दुर्गम बस्छ, जनताको सेवामा अहोरात्र खटिन्छ, ऊ सेवासुविधा र अवसरबाट वञ्चित छ । यसका लागि नेतृत्व तहमा बस्नेले दूर दृष्टिको चस्मा लगाउनु जरुरी छ ।

वृत्ति विकास कुनै एक व्यक्तिको पेवा होइन, चाहे त्यो ताप्लेजुङको याङवरक गाउँपालिमा काम गर्ने कर्मचारी होस् वा हुम्लाको नाम्खा गाउँपालिकामा काम गर्ने वा सप्तरीको डाक्नेश्वरी नगरपालिका चाहे कुनै मन्त्रालय, विभागमा काम गर्ने कर्मचारी नै किन नहोस् सबै कर्मचारीको वृत्ति विकास समान तवरले हुनु जरुरी छ । जबसम्म नेता र हाकिमको कोठाकोठामा नमस्कार गर्ने मात्रै सुगम तथा सुविधा सम्पन्न अड्डा तथा देश–विदेश अध्ययन अवलोकन भ्रमणमा जान पाउने र वृत्ति विकासको अवसर उसैले पाउने प्रवृत्ति रहन्छ, तबसम्म जतिसुकै नियमितता, सुशासन र प्रभावकारिताको रटान लगाए पनि तात्विक फरक पर्नेवाला छैन ।

समस्या धेरै छन् । तिनको समाधान एकै पटक गर्न सकिँदैन । वस्तुगत तथ्य र यथार्थपरक तवरले सामूहिक ढंगबाट कार्य सम्पादन गर्न सके सही र छिटो प्रतिफल प्राप्त गर्न सकिन्छ ।

देशको विकास, समृद्धि र विकासका लागि सुशासनयुक्त सार्वजनिक सेवाको आवश्यकता छ, जसका लागि सरकारी र सार्वजनिक सेवालाई प्रभावकारी तथा चलायमानरूपमा अगाडि बढाउनुपर्छ । यसका लागि ‘राइट टाइम, राइट म्यान एन्ड राइट प्लेस’को नीतिमा सरकार अगाडि बढ्नु जरुरी रहन्छ ।

सेवा सुविधा एक अमुक व्यक्तिले लिइरहने, तर जिम्मेवारी र दोष अर्को व्यक्ति तथा निकायतर्फ देखाउने प्रवृत्तिले कुनै पनि सार्वजनिक निकायको कार्य सम्पादन प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन । जो व्यक्ति लायक छ, जसले कार्यसम्पादन राम्रो गरेको छ उसको वृत्ति विकास मापदण्ड सुनिश्चित गर्दै दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ । जसले गर्दा निजामती सेवा ऐन, २०४९ ले लिएको लक्ष्य, निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएको पुष्टि हुन जान्छ ।

समाजमा रहेका सक्षम, योग्यतम व्यक्तिहरूलाई क्यास गर्न राज्यले सरकारी सेवामा अर्थपूर्ण वृत्ति विकासको वातावरण बनाउनु जरुरी छ । जुनसुकै कर्मचारीलाई पनि उसको ल्याकत अनुसारको निकायमा सेवा प्रवेशको सुनिश्चितता गर्न सक्नुपर्छ । कर्मचारीले दिने सेवाको मूल्य हरेक नागरिकले पलपल नियालिरहेका हुन्छन् ।

सार्वजनिक सेवाको प्रभावकारिता आजको आवश्यकता हो । यसका लागि मानव स्रोत, क्षमता, परिश्रम, नीति निर्माण प्रणालीको कार्य दक्षता तथा प्रभावग्रहितामा सुधार, सरकारी संयन्त्रको प्रक्रियागत सुधार गर्न आवश्यक छ । अर्काेतिर बजार मूल्यमा भएको वृद्धि अनुसार तलब सुविधा समायोजन, नेतृत्वमा परिपक्कता र व्यावहारिकता, लाभ–हानीको विश्लेषण गर्ने सक्ने क्षमता जस्ता हुन पनि आवश्यक छ, जसका लागि सबै तह र तप्काको नैतिकता र आचरणमा सुधार गर्नु जरुरी छ । चाहे सरकार, राजनीतिक नेतृत्व वा माथिल्लो तहको कर्मचारी होस् । तसर्थ सार्वजनिक क्रियाकलापमा प्रक्रियाभन्दा लक्ष्य वा नतिजा उन्मुख व्यवहारको प्रदर्शन नेतृत्व जगतमा हुन जरुरी छ ।

व्यक्तिगत स्वार्थका कारण इमान्दारितामा ह्रास आउने कुराको वोध सार्वजनिक व्यक्तिमा उजागर गर्नु जरुरी छ । यसका लागि राष्ट्रसेवक कर्मचारी व्यक्तिगत स्वार्थरहित, जवाफदेही, इमान्दारलगायत गुण हुन आवश्यक छ । अनि मात्रै निजामती सेवाको प्रभावकारिता हुन सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस