भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर


२८ चैत्र २०७४, बुधबार


भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर गःहिटी पुर्याएका छन् ।

जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पु¥याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिए ।

विगतका वर्षहरुमा भने रथ तान्ने जनशक्तिको अभाव भए सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पुर्याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुर्याएको उनको भनाइ छ ।

राति नै रथलाई गःहिटी पु¥याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा रथको गजुर भाँचिएको छ । तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पु¥याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो ।

रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, ‘रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।’

आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पु¥याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ । रासस

प्रतिक्रिया दिनुहोस