व्यक्तिगत रूपान्तरणबाट सुशासनलाई सर्बव्यापी बनाउन सकिन्छ « प्रशासन
prasaLogo
१८ पुष २०७४, मंगलवार

व्यक्तिगत रूपान्तरणबाट सुशासनलाई सर्बव्यापी बनाउन सकिन्छ


प्रकाशित मिति : 2 January, 2018 7:03 am

एकात्मक राज्य प्रणालीबाट सङ्घीय शासन प्रणालीमा जाँदै गर्दा सबैभन्दा ठूलो चूनौती हो सुशासन । हिजो सबै साधन स्रोत केन्द्र मै हुँदा त कायम गर्न नसकिएको ‘सुशासन’ र नियन्त्रण गर्न नसकिएको ‘भ्रष्टाचार’लाई अब स्थानीय तथा प्रदेशमा वितरण भइसकेपछि कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने मुद्धा अबको जल्दोबल्दो विषय हो । मुलुकको सम्बृद्धि र समुन्नतिका लागि सुशासन कायम गर्नु पहिलो सर्त हो ।

मुलुक र नागरिकको स्तरोन्नतिको परिकल्पना गर्दै गर्दा शासकीय कृयाकलापहरुमा सुशासन कायम गराउनु जरुरी छ । अबका सुशासनका मुद्धाहरु, आधुनिक राज्य व्यवस्थामा सुशासनको सर्वव्यापकता लगायतका विषयमा प्रशासन डटकमका एस राज उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. नारायण रेग्मीसंग गरेको कुराकानीः

अबका सुशासनका मुद्धाहरु के हुन सक्छन् ?
राज्यको धारणामा आएको परिवर्तनसंगै सुशासनका मान्यतामा पनि परिवर्तन आएको छ । हिजो सरकार शासकीय कृयाकलापमा बृहत भुमिकामा थियो । र उसका कृयाकलापहरूमा सुशासन स्थापना गर्दा सेवा प्रवाहको गुणस्तरमा बढोत्तरी आउँछ भन्ने थियो । तर अब राज्य र सरकारको दायरामा व्यापकता आएको, राज्यका शासकीय व्यवहारमा बहुकर्ताको संलग्न भएका कारण ती सबै बहुकर्ताहरू स्वयं पनि रुपान्तरित हुनुपर्ने अवस्था छ ।

सुशासनका आधारभुत मान्यताहरूलाई राज्यसंचालनका बहुकर्ताहरूको व्यवहारमा कसरी स्थापित गराउने भन्ने अहिलेको प्रमुख बिषय हो । त्यसैगरी सुशासनको अभ्यासमा एकिकृत निष्ठाको अनुपालना पनि समकालिन महत्वको बिषय हो । नेपालको सन्दर्भमा नयाँ संरचनामा जाँदै गर्दा सबै शासकीय संरचना र तिनका व्यवहारमा पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय, बिधिको शासन जस्ता समतामूलक मानव विकास प्रबर्धनका आधारभूत मान्यताहरूको स्थापना गराउनु पर्ने आवश्यकता छ ।

तसर्थ, सुशासन स्थापनाका लागि अबको काम भनेको सरकारको संरचनात्मक परिवर्तन र बिधिको शासनलाई फोकस गर्नु मात्र नभई नागरिकसंग जोडिएका हरेक बिषयवस्तुहरु र कृयाकलाप निष्ठायुक्त र पारदर्शी बनाउनु हो । जसका कारण सरकार र नागरिकको सम्बन्ध अझै मजबुत होस् । अर्थात सुशासन नागरिक र सरकारलाई जोड्नेमा केन्द्रित हुनुपर्छ ।

नागरिक र सरकारलाई कसरी जोड्न सकिन्छ त ?
दुबै पक्षको परिवर्तनले मात्रै यो सम्भव हुने हो । शासन गर्ने पक्षले मैले शासन हैन, सेवा गर्दैछु भन्ने महसुस गर्नुपर्यो । र, सेवा लिने (सर्भिस रिसिभर)ले पनि यिनिहरुले मेरा लागि काम गरिरहेका छन् कहीँ न कहीँ म जोडिएको छु अर्थात यिनिहरुको कामसंग म प्रत्यक्ष या अपत्यक्ष रुपमा प्रभाबित छु भनेर सहभागी हुनुपर्यो । यसर्थ, सेवा दिने र सेवा लिने बीचको कार्यगत एकताले उनिहरूलाई जोड्न सकिन्छ । सार्बजनिक सेवाहरूको उत्पादन, वितरणदेखि लाभको समान उपभोगसम्म नागरिकको संलग्नता गराएमा नागरिक र सरकार एकअर्कामा सहजै जोडिन्छन् ।

आधुनिक राज्य व्यवस्थामा ‘सुशासन’लाई कसरी ‘सर्वव्यापकता’ बनाउन सकिएला ?
सुशासनको सर्बब्यापकता जरूरी छ । हामिले सुशासनका बारेमा बोलेको धेरै भयो, तर सुशासन स्थापना भएको पाईदैन । त्यसको कारण भनेको राज्यका कर्ताहरु (एक्टर्स अफ स्टेट) का व्यबहारमा सुशासनको मान्यता प्राथमिकतामा नपर्नु हो । सुशासनका लागि हामीले गरेको कामको लेखाजोखा गर्नुपर्ने बेला आएको छ ।

प्रोएक्टिभ सरकार र पार्टिसिपेटरी नागरिक बनाउन सके सुशासनलाई सर्बब्यापक बनाउन सकिन्छ । नागरिकले सरकारबाट प्राप्त गर्ने सबै सेवाहरुको श्रृंखलामा जबर्जस्त चासो राख्नुपर्छ अनि बल्ल उसले सरकारलाई सतर्क हुन्छ । र, त्यसैगरी मैले जे गरिरहेका छु त्यो नागरिकका लागि गरिरहेको छु र यसको हिसावकिताब जनतालाई बुझाउनु पर्छ भनेर कर्मचारीले पारदर्शी ढंगले काम गर्दा सुशासन स्थापना हुन्छ । अर्को भनेको सरकारी निकायहरूलाई स्वपरिचालित संस्थाका रूपमा विकास गरिनु पर्छ ।

‘सेल्फ मोबिलाइज्ड’ अर्थात ‘स्व–परिचालित इन्ष्टिच्युसन’का रुपमा कर्मचारीतन्त्रलाई स्थापित गर्न के गर्नुपर्ला ?
अहिले ब्यूरोक्रेसिलाई धेरै आरोपहरू छन् । ति मध्ये उ आफै काम गर्न चाहँदैन भन्ने आरोप मुख्य हो । काम गराउनका लागि कि त रिवार्ड कि त पनिसमेन्ट चाहिन्छ भन्ने छ । अहिलेको कर्माचारीतन्त्रमा पुरस्कार र दण्ड दुबै निर्देशित र समान छन् । यसका कारण पनि हामी स्वपरिचालित हुन नसकेको हो । स्वपरिचालित कर्मचारीतन्त्र निर्माण गर्नका लागी यसको बिद्यमान संगठनात्मक संस्कृतिको रूपान्तरण जरुरी छ । कर्मचारीतन्त्रले हाल अपनाईरहेका मूल्य, मान्यता र व्यवहारमा पूर्ण रुपान्तरणको आवश्यकता देखिन्छ ।

अर्को भनेको कर्मचारी स्वयंको व्यक्तिगत व्यबहार परिवर्तन हो । यसका लागि उसको धारणामा परिवर्तन हुनुपर्छ । सर्भिस प्रोभाइडरको रूपमा मैले काम गर्नुपर्छ भनेर उसले फिलिङ्स गर्यो भने उसको धारणा परिवर्तन हुन्छ र उ सेल्फ मोबिलाईज्ड हुन्छ ।

त्यसैगरी त्यस्तो कानुन पनि ल्याउनु पर्यो की उ आफै स्व–परिचालित भएर काम गरेन भने त्यसलाई सजाय हुने सुनिश्चितता होस । सेवाको सुरक्षा हुँदा हुँदै पनि आफुले सम्पादन गर्नुपर्ने काम नगर्ने कर्मचारीलाई कारवाही हुनुपर्छ । ‘रिवार्ड र पनिस्मेन्ट’लाई पुनर्बलसँग जोड्नु पर्छ । यस खालको नीतिगत र कार्यवातावरणले हामी स्वचालित संस्थाको विकास गर्न सक्छौं ।

राज्यको बदलिदो भूमिकामा ‘सुशासन’को मान्यता परिवर्तन हुनुपर्छ कि पर्दैन ?
परिवर्तन हुनुपर्छ । सुशासनका जुन अन्तर्राष्ट्रिय मान्यताहरू छन् तिनको अनुपालनामा सरकार मात्रै नभई मल्टिलेयर गर्भरनमेन्टमा संलग्न सबै प्रणाली र तिनका उप प्रणालीहरू प्रतिबद्ध हुनुपर्छ । शासकीय कृयाकलापमा तिनको समेत संलग्नता हुने भएकोले सुशासनमा सामुहिकताबादको बिधि अबलम्बन गरिनु पर्दछ । अब सुशासनका लागि सरकार मात्र परिवर्तन हुने होइन, सामाजिक समूह र संगठनहरू, नागरिक समाज र व्यक्ति स्वयं पनि पनि परिवर्तन हुनु पर्दछ ।

यसका साथसाथै अब सुशासनमा एकीकृत निष्ठालाई परिचालन गरिनु पर्दछ । राज्यमा बसेका मान्छेहरू र सेवाग्राही दुबै निष्ठावान हुनुपर्यो । सुशासनप्रतिको निष्ठामा नागरिक, कर्मचारी, राजनीतिक दलहरू, निजी क्षेत्र, सामाजिक अभियन्ताहरू सबैको समान योगदान हुनु पर्दछ । त्यो हुन सक्यो भने मात्रै सुशासन स्थापित हुन्छ भन्ने मेरो धारणा हो ।

यहाँले ‘एकीकृत निष्ठा’को कुरा गर्नुभयो के हो एकिकृत निष्ठा भनेको र कसरी एकिकृत बनाउन सकिन्छ ?
राज्य सञ्चालनमा संलग्न सबै कम्पोनेन्टस्हरूको इन्टिग्रिटी समान र एकिकृत रुपमा परिचालन हुनुपर्यो भन्ने हो । शासकीय व्यवहारहरू र शासनका लक्ष्यहरू साझा हुने भएकोले शासनसँग सम्बद्ध सबै सुशासनका मान्यतामा एकीकृत र समान रूपमा निष्ठावान हुनु पर्दछ । कर्मचारीतन्त्र मात्रै निष्ठावान हुँदैमा देशमा सुशासन कायम हुँदैन । किनभने शासन संचालनका बिभिन्न साझेदार छन् । जस्तैः ठेकदारहरू, नीजि क्षेत्र, ब्यापारीक समूह, सहकारी, अन्तराष्ट्रिय संघसंस्थाहरू, सामाजिक चाख भएका अरू सामाजिक संगठनहरू छन् । उनीहरू निष्ठावान भएनन् भने सरकारले मात्रै सुशासन रेगुलेट गर्न गाह्रो हुन्छ । त्यसैले सार्वजनिक सेवाकोे उत्पादन, वितरण र उपभोगमा जुन जुन च्यान, र कम्पोनेन्टस्हरू संलग्न हुन्छन् ति सबै सदाचारयुक्त हुनुपर्छ । अतः सार्बजनिक सेवाको प्रबाहमा संलग्न प्रणाली र उपप्रणालीको शुद्धिकरण र सहकार्यबाट उनिहरूलाई एकीकृत बनाउन सकिन्छ ।

सरकारको प्रत्यक्ष निगरानीमा रहेका एउटै कर्मचारीतन्त्र त ‘निष्ठावान’ बनाउन नसकिरहेको अवस्थामा यत्रो बिसाल क्षेत्रलाई कसरी एकैचोटी निष्ठावान् बनाउन सकिन्छ त ?
बनाउने भन्दा पनि बन्ने पक्षबाट हेर्नुपर्यो । परिवर्तनको नेतृत्व आफूबाटै गर्ने र अरूलाई त्यसको अनुसरण गर्न उत्प्रेरित गर्ने हो । निष्ठा भनेको फिलिङ्स हो । त्यो फिलिङ्स पछि गएर आदतका रूपमा स्थापित हुन्छ । यसका लागी त उसको सोचाइको स्तर परिवर्तन हुन पर्यो । हामी जन्मिँदै देखि घर, परिवार, विद्यालय, र जुन समुदायबाट हामी हुर्किन्छौं, बढ्छौं त्यो समाजबाटै हाम्रो निष्ठा विकास हुन्छ । सदाचारप्रतिको धारणा तलदेखि नै आउनु पर्यो ।

व्यक्ति एक्कासी तीस वर्षमा आएर सदाचारीे नबन्न पनि सक्छ । सदाचार र सुशासन त व्यवहार हो जुन धारणाबाटै निर्देशित हुन्छ । धारणामा परिवर्तन आउँदा उसको मुल्य मान्यता, संस्कृति, चाल चलन, आचार बिचार सबैमा परिवर्तन आउँछ । हाम्रो धारणा परिबर्तनमा परिवार, स्कुल, समुदाय, सामाजिक इकाई र पियर ग्रुपले महत्वपूर्ण भूमिका खेल्छन् । तसर्थ यी सबै संघसंस्थाहरूले निष्ठा र मूल्यका बारे सकारात्मक धारणा विकासमा सकारात्मक योगदान दिन सके सबैको व्यवहार सुशासनयुक्त बनाउन सकिन्छ ।

हामी भ्रष्ट छौं/छैनौं ? हामी प्रोएक्टिभ छौं/छैनौं भन्ने कुरा हामीले प्रदर्शन गर्ने व्यवहारबाट पनि झल्किन्छ । निष्ठा र सदाचारको अवस्थालाई कलेक्टिभ एसेसमेन्ट गरेर पनि हाम्रो अवस्थालाई परिक्षण गर्न सकिन्छ । परस्परमा आधारित सम्बन्धको विकास मार्फत व्यवहारमै सुशासन स्थापित गर्न सकिन्छ ।

आउँदो अर्थात भावि पुस्ताका लागि त घरबाटै सिकाउने कुनै मेकानिजमको थालनी सोच्न सकिएला, जो अहिले राज्य संञ्चालन गरिरहेका छन् यीनीहरूका लागि के उपाय अपनाउनु पर्ला ?
यो अलि जटिल नै छ । अहिलेको पुस्ताहरू जुन एउटा खालको मान्यतामा बाँचिरहनु भएको छ, त्यो मान्यता बोकेका मान्छेलाई अर्को मान्यतामा परिवर्तन गर्न निकै गाह्रो छ । व्यक्तिको धारणा परिवर्तन निकै चुनौतिपूर्ण कार्य पनि हो । तर असम्भब भने छैन । प्रभावकारी दण्डात्मक व्यवस्थाका साथै निरन्तर पुनर्ताजगी तालिम, आध्यात्मिक प्रशिक्षण, सकारात्मक सोचको विकास, असल सामाजिक सम्बन्ध, सदाचारयुक्त सामाजिक समायोजन जस्ता बिधिबाट उनिहरूलाई एउटा त्यस्तो प्वाइन्टमा पुर्याउन सकिन्छ जसले गर्दा उनीहरू आफै बदलिउन् । त्यो अवस्था हामि सृजना गर्न सक्छौं ।

कोही मान्छे इन्सिडेन्टबाटै पनि त रूपान्तरित हुन सक्छ नी । त्यसलाई त्यस्तो अवस्था खडा गरिदिने की जुन अवस्थाले उ आफै बदलियोस् । त्यसैले इभिडेन्स बेस्ड रेस्पोन्स मार्फत परिवर्तन हुने वातावरणको निर्माण गर्न सकिन्छ ।

सुशासन कायम गर्ने सन्दर्भमा थप भन्नुपर्ने अरुपनि केही कुराहरु छन् कि ?
सुशासन व्यवहार हो । समानताको प्रवद्र्धन, पारदर्शी व्यवहार, निष्ठा र सदाचारितामा आधारित जीवनकालागि पनि सुशासन जरूरी छ । सुशासन स्थापना नभइकन समाज समुन्नत, न्यायपूर्ण र समतामुलक हुँदैन । यसर्थ पनि सुशासन अपरिहार्य छ । सुशासन स्थापनाबाटै सरकार र नागरिक बीचको दूरी पनि घटाउन सकिन्छ । तसर्थ सुशासन भनेको सरकार नागरिक सबैका लागि बरावर महत्व र चासोको बिषय हो । यसका लागि साझा भूमिका र योगदान जरूरी छ ।

सुशासनका सैैद्धान्तिक मान्यता स्वीकार गरी पूर्ण रूपमा त्यसका आधारभूत पक्षहरूलाई आत्मसात गरेमा सुशासन स्थापना गर्न सकिन्छ । यसका लागि व्यक्तिगत रूपान्तरणको जरूरी छ । धारणा परिवर्तन मार्फत व्यक्तिगत रूपान्तरण गर्ने र यसको माध्यमबाट सुशासन स्थापनामा योगदान पुर्याउन सकिन्छ ।

र यो पनि,

सकारात्मक चिन्तन नै जीवन सुन्दर बनाउने उपाय हो

Tags :
प्रतिक्रिया दिनुहोस