नेपालको कृषि कुचक्रको भुमरीमा छ « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

नेपालको कृषि कुचक्रको भुमरीमा छ


२ कार्तिक २०७४, बिहिबार


कृषिप्रधान देश’ भनिए पनि नेपालले कृषिमा आशातित प्रगति हासिल गर्न सकेको छैन । यसको मुख्य कारण कृषि पुरानो प्रविधिमा निर्भर रहनु हो । कृषि क्षेत्रका समस्या र समाधानबारे प्राध्यापक डा. एकराज ओझासँग प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

नेपालमा कृषिको विकास हुन नसक्नुको कारण के हो जस्तो लाग्छ यहाँलाई ?
नेपालको कृषि एउटा कुचक्र, अविकासको भुमरीमा परेको देखिन्छ । एकातिर कृषिले विज्ञान र प्रविधिलाई धेरै टेवा पुर्याउन सक्थ्यो । त्यो टेवा पुर्याएपछि स्वतः विज्ञान र प्रविधिले कृषिलाई पनि सघाउ पुर्याउन सक्थ्यो । हामीकहाँ कृषि समुन्नत हुन सकेन । किनभने कृषिलाई आधुनिकीकरण गर्नेतर्फ कृषकको, कृषिमा आश्रित, कृषि उत्पादनमा संलग्न जनताको जीवनस्तर उकास्न चाहिने विभिन्न आधारभूत भौतिक तथा सामाजिक संरचनाको विकास निकै पछाडि परेको छ । परम्परागत, धेरै पुरानो प्रविधिमा निर्भर पर्नुपर्ने बाध्यता रह्यो र त्यो अद्यापि कायम छ ।

परम्परागत कृषि प्रणाली नै आधुनिक कृषि प्रणालीको बाधक बनिरहेको अवस्था हो ?
हो, परम्परागत कृषि प्रणाली, परम्परागत सीमित ज्ञान सीप नै एक प्रकारले बाधक नै भन्नु पर्ला । बाधकभन्दा पनि त्यो कमजोर अवस्था एउटा सीमितताका रूपमा रहन गयो ; एक प्रकारको बाधाको अवस्था रह्यो । त्यसैले, सामाजिक संरचना, सहयोगी संरचना/प्रारूप भौतिक पूर्वाधारको निर्माण हुनुपर्ने हुन्छ । भौतिक मात्रै होइन, अरु आर्थिक संरचनाको पनि निर्माण अत्यावश्यक हुन्छ । उदाहरणका लागि इन्धन नै भनौं । इन्धनको उपलब्धता सहज र सुपथ हुनेबित्तिकै वनजङ्गल संरक्षण हुन्छन् । वनजङ्गल संरक्षण भए पशुपालन फस्टाउन सक्छ । पशुपालन फस्टाउन सके प्राङ्गारिक जैविक मल पर्याप्त मात्रामा उपलब्ध हुन्छ । अनि खेत बढी सिँचित र उर्वर हुन्छन् । जैविक खाद्यान्नको उत्पादन सम्भव हुन्छ ।

जैविक खाद्यान्नको उपभोग गरे मानव स्वास्थ्यमा पनि सुधार हुन्छ । अर्थात् जस्तो खानेकुरा खायो, बोली, व्यवहार, आनिबानीलगायत पनि त्यस्तै हुन्छ । त्यसबाट अन्ततोगत्वा विकास हुने हो । त्यसैले एक विद्वानले भन्नु पनि भएको छ “You are what you eat” (जस्तो खान्छौँ त्यस्तै बन्छौँ) । त्यसकारण, सबैभन्दा महत्वपूर्ण त स्वस्थ आहार नै हो । त्यो स्वस्थ आहारको लागि वनजंगल तथा पशुपालनको धेरै ठूलो महत्व छ । म त भन्छु मलको लागि धेरै महत्व हुन्छ । त्यो मलको विकल्प रासायनिक मल हुन सक्दैन । त्यसैले त्यो कुरा तब सम्भव हुन्छ जब हामी किसानलाई आधारभूत भौतिक पूर्वाधार, संस्थागत संरचना र सहयोग पुर्याउन सक्छौं । उदाहरणका लागि मल हुन सक्छ । बीउ हुन सक्छ । ऋण हुन सक्छ । बोट—बिरुवा, बीउबिजनको उपलब्धता हुन सक्छ । सहुलियत दरमा, सुपथ मूल्यमा र समयमा साथसाथै प्रविधि, ज्ञान, सीप र सचेतना प्रवाह गर्नेबित्तिकै स्वभाविकैले उत्पादकत्व बढ्छ ।

बढ्दो उत्पादकत्वको माध्यमबाट कूल उत्पादन बढ्न जाने हुन्छ । जसले गर्दा कृषककोे उपभोग र आम्दानीमा पनि सुधार आउँछ । जब आम्दानीमा सुधार आउँछ, कृषक र आश्रित व्यक्तिहरुको स्वास्थ्य तथा शिक्षामा सुधार आउँछ । अनि समष्टिगत परिवार, समाज, प्रदेश, देश र विश्वकै विकास हुन्छ ।

कृषिप्रधान देशका जनता भोकमरीले मरिरहनुपर्ने अवस्थाको मुख्य जिम्मेवार कसलाई मान्नु हुन्छ ?
मुख्य जिम्मेवार स्पष्टरूपमा राज्य नै हुन्छ । यसमा पनि उपल्लो तहमा बसेकाहरू बढी जिम्मेवार छन् । सेवा सुविधाबाट वञ्चित र पीडित व्यक्तिको सुरक्षाका लागि पनि सहयोग गर्नुपर्ने संसाधन र दायित्व पनि प्रमुख रुपमा उनीहरूसँग हुन्छ ।

उपल्लो तहमा भएकालाई थाहा नभएर हो कि, थाहा नभएको व्यक्ति उपल्लो तहसम्म पुग्न नसकेर हो ?
दुइटै हो । सबैभन्दा पहिले त जान नपाएर नै हो । चेतना तथा विवेक अभाव अर्काे कारण हो । जानेर पनि फेरि ‘यस्य नाऽस्ति स्वयं प्रज्ञा सास्त्रं तस्य कारोति किम,लोचनाभ्यां बिहीनस्य दर्पणं किं करिस्यति’ भनेजस्तो पनि हो । ज्ञान भएर, जानेर पनि विवेकमै बिर्काे लाग्यो भने त्यो ज्ञानले काम दिँदैन । सबभन्दा पहिला त उपयुक्त व्याक्ति उपयुक्त जिम्मेवारीमा पुग्नै सक्दैन यहाँ । सही सोच, व्यवहार तथा दक्षता भएको मानिस पुग्न सक्ने, पुग्न दिने वातावरणकै अभाव हो । प्रष्टरूपमा, यदि जान्छ भने पनि त्यो ठाउँमा यस्तो जान्छ जोसँग न सामथ्र्य छ न सोच छ । आफ्नो निहित स्वार्थमा लिप्तले नै अनेक प्रकारको षडयन्त्र गर्छ । सर्वसाधारणलाई पनि दोष जान्छ । किनभने स्वयं आफै उछिट्टिएर त कोही पनि गएको हुँदैन । त्यहाँ पुर्याउने समाजका जुन विभिन्न व्यक्ति तथा समूह हुन्छन् ती पनि त्यत्तिकै उत्तरदायी र दोषी छन् ।

अझै पनि ग्रामीण बस्तीमा पुग्न कैयौं दिनसम्म पनि हिँड्नुपर्ने अवस्था छ । त्यो अवस्थामा स्वभाविकैले सहज ठाउँमा खाद्यान्न त पुगिराखेकै छ तर ती कुना—कन्दरामा पुग्न पाएको हुँदैन । त्यसमा स्वभाविकैले राज्यको कमी स्रोतसाधन जुटाउन नसक्नु र नचाहनुमै छ ।

कुल ग्राहस्थ उत्पादनमा घट्दो कृषिको योगदानलाई बढाउन के गर्नुपर्छ ?
त्यसका लागि व्यावसायिक कृषि नै गर्नुपर्छ । व्यावसायिक कृषि गर्न मैले अघि नै भने झै कुन ठाउँमा कुन सम्भावना छ, त्यस अनुरूपको बाली लगाउने व्यवस्था हुनुपर्छ । हुन सक्छ कुनै एउटा बन्जर जमिन होला । त्यसमा धान खेती उपयुक्त नहोला । त्यो काम नलाग्ने हुन सक्छ । तर कुनै एउटा जडीबुटी अथवा फलफूलका लागि त त्यो अरु समथर जमिनभन्दा पनि बढी उत्पादन हुन सक्छ । सबभन्दा पहिला त्यो पहिचान हुनुपर्यो । त्यसमा बढी मूल्य दिने बाली लगाउनु पर्यो । त्यसको प्रशोधनको व्यवस्था त्यहाँ भइदिनु पर्यो । त्यो भएको खण्डमा निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिमा चाडै नै जान सकिन्छ । त्यसका लागि फेरि मैले अघि भनेझैं न्यूनतम पूर्वाधार, सरसुविधा, संस्थागत संरचना राज्यले पनि यथोचित रूपमा मिलाइ दिनुपर्छ ।

सारांशमा भन्नुपर्दा कृषि क्षेत्रमा देखिएका समस्या समाधान र आशलाग्दा पक्ष के–के छन् ? समस्या र सम्भावनाहरुको सदुपयोग पनि वास्तवमा समस्याको पहिचानबाटै हुने हो । एउटा बिरामीलाई निको पार्न सबभन्दा पहिले उसको रोगको पहिचान हुनुपर्छ । त्यस्तै, समस्याको पहिचानबाट विकासका सम्भावना उजागर हुन्छन् । आशालाग्दा पक्षमा समस्यामा पनि म एउटा कुरा जोडिहालुँ । मैले सुरुमा भनेको थिएुँ, अहिले हामी विकासको कुचक्रमा छौँ । अहिले उर्वरा शक्ति घट्दो छ । नेपालका ग्रामीण र शहरी क्षेत्रबीच र त्यस्तै नेपाल र विकसित देशबीचको खाडल विकासमा, प्रविधिमा, हरेक—कुरामा झन् झन् फराकिलो हुँदै गइरहेको छ । त्यसले गर्दा युवा क्षमतावान जनशक्ति पलायन हुने क्रम तीव्ररूपमै छ हाम्रो देशमा । यसलाई हामीले रोक्न सकेका छैनौं ।

कृषि श्रम—सघन (labour-intensive) प्रकारको व्यवसाय हो । जब श्रम नै उपलब्ध छैन भने कतिपय ठाउँमा हामीले देखेका छौं धानको कून्यु चुट्न नपाएर धान त्यत्तिकै कुहिएको अवस्था । राम्रा खेतहरु रोप्न सकिएका छैनन् । गरा—कान्लाहरु तहसनहस भइरहेका छन् । त्यो सबै श्रमको पलायनले गर्दा हो र विकराल समस्या भएको छ । यो हामीले भुल्नु हुँदैन । हामीले यसको समाधान निकाल्नु पर्छ । त्यसका लागि हामीले युवालाई युवा रोजगार कार्यक्रम भनेर केवल सैद्घान्तिक र आफ्ना नेता/कार्यकर्ता पोस्न होइन, कार्यक्रम व्यवहारमै तल्लो स्तरमै, विकट ठाउँमै पुर्याइहाल्नुपर्ने र त्यसलाई पूर्णरुपेण भ्रष्टाचार मुक्त नै पार्नुपर्ने टड्कारो आवश्यकता छ ।

त्यसो भएको खण्डमा श्रम शक्ति पलायन रोकिन्छ, स्थानीय स्तरमै त्यसको सदुपयोग हुन्छ । अनि उर्वराशक्ति बढ्छ, कुल उत्पादनमा वृद्घि हुन्छ र विकास फस्टाउँछ । जस्तो : इजरायल गएका युवा विदेशमाभन्दा त पौरख गर्न सकेको खण्डमा आफ्नै देशमा पनि गर्न सकिन्छ कि भनेर फर्केर आएर कति ठाउँमा बेमौसमी तरकारी फलाएर धेरै राम्रो आयआर्जन गरेर अरुलाई पनि अनुकरणीय अभ्यास देखाएर उन्नति गरेको पनि देखिन्छ ।

यो पनि,

यसरी बनाउन सकिन्छ निर्वाहमुखी कृषिलाई व्यवसायमुखी

प्रतिक्रिया दिनुहोस