घोरेपानीमा पर्यटकको चहलपहल बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घोरेपानीमा पर्यटकको चहलपहल बढ्यो


प्रशासन संवाददाता

४ बैशाख २०७४, सोमबार


मुस्ताङ । विनाशकारी भूकम्पका कारण शिथिल बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ ।

एक वर्षको अवधिमा एक्यापअन्तर्गत पर्ने मूख्य पर्यटकीय गन्तव्य घोरेपानीमा दोब्बर पर्यटक भित्रिएपछि व्यवसायीले भूकम्पको घाउ बिर्सदै गएका छन् । विस २०७२ मा १९ हजार ३४८ पर्यटक भ्रमणका लागि आएकोमा ०७३ मा ४५ हजार ६८५ पर्यटक भित्रिएको प्रहरी पर्यटक कार्यालय घोरेपानीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने घोरेपानी समुद्री सतहदेखि २८१० मिटरको उचाइमा अवस्थित छ । धौलागिरि, नीलगिरि र अन्नपूर्णलगायत दर्जन बढी हिमशृङ्खला र पुनहिलबाट सूर्योदयको अवलोकन, पाहुनालाई आत्मीय सत्कार दिने स्थानीयको संस्कार र सुविधासम्पन्न होटलको व्यवस्थाका कारण घोरेपानी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

धौलागिरि, नीलगिरि र अन्नपूर्णलगायत दर्जन बढी हिमशृङ्खला र पुनहिलबाट सूर्योदयको अवलोकन, पाहुनालाई आत्मीय सत्कार दिने स्थानीयको संस्कार र सुविधासम्पन्न होटलको व्यवस्थाका कारण घोरेपानी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

घोरेपानीमा एक दर्जन सुविधासम्पन्न होटल छन् । त्यसमा एकैरात ५०० जना बास बस्न सक्ने क्षमता छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँ पुल हुँदै मुस्ताङ प्रवेश गर्ने र मनाङ भएर मुस्ताङको थोराङलापास हुँदै कास्की निस्कने पदयात्रीका लागि घोरेपानी मुख्य पर्यटकीय गन्तव्य हो । खोप्रालेक, घान्द्रुक र एबिसीजस्ता चर्चित गन्तव्यमा पुग्न पनि घोरेपानी हुँदै जान सकिन्छ । प्रहरी पर्यटक कार्यालय घोरेपानीका प्रमुख प्रहरी सहायक निरीक्षक वीरेन्द्र महतले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै आठ हजार ३३५ पर्यटक भित्रिएका थिए । “नव वर्ष २०७४ को पहिलो दिनमा झन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले बासै पाउने अवस्था थिएन्, कति पर्यटक त शिख र घान्द्रुकतिर गएका थिए” उनले भने, “एक वर्षको अवधिमा दोब्बर पर्यटक भित्रिनु धेरै उत्साहजनक अवस्था हो ।”
एक्याप घान्द्रुक इलाका प्रमुख विदुर कुइँकेलले २०७३ मा एक्याप क्षेत्रमा उत्साहजनक पर्यटक भित्रिएको जानकारी दिए । उनले भने,“०७३ सालमा बन्द हडताल पनि भएन । अन्तर्राष्ट्रिय क्षेत्रमा सकरात्मक सन्देश प्रभाव भएका कारण पर्यटकको उत्साहजनक उपस्थिति रह्यो ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस