नेपाली पर्यटनको प्रचार गर्न बिबिसी, रोयटरसंग सम्झौता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली पर्यटनको प्रचार गर्न बिबिसी, रोयटरसंग सम्झौता


प्रशासन संवाददाता

२२ चैत्र २०७३, मंगलबार


काठमाडौँ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले नेपाल पर्यटन बोर्डले चर्चित अन्तर्राष्ट्रियस्तरका सञ्चार माध्यमसँग साझेदारी अघि बढाएको छ ।

भूकम्पपछिको पर्यटनलाई विश्वभर सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्न बोर्डले बिबिसी, रोयटर र ट्रिपएडभाइजरसँग साझेदारी गरेको हो । ती संस्थासँग सोमवार आयोजित एक कार्यक्रमबीच छुट्टाछुट्टै दुई पक्षीय सम्झौता गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बिबिसीका दक्षिण एसिया बजार निर्देशक विकास भाट्नागर, रोयटरका बजार प्रवन्धक एस एन भादुरी र ट्रिप एडभाइजरका दक्षिण एसिया बजार निर्देशक भरतनाथ पालसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रचारप्रसारका लागि बिबिसीसँग छ महिनाका लागि छ लाख ८० हजार, ट्रिप एडभाइजरसँग एक वर्षका लागि दुई लाख ५० हजार र रोयटरसँग ७५ हजार अमेरिकी डलर बोर्डले खर्चनेछ । तीनवटै संस्थाको निश्चित अवधिमा मूल्याङ्कन हेरेर थप कार्यक्रम अघि बढाइनेछ ।

तीनवटै मिडियाले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य, पर्वतारोहण, पदयात्रा, धार्मिकस्थल, स्थानीय रहनसहन, महत्वपूर्ण चाडपर्व आदिबारे अनुसन्धानमूलक सामग्री, भिडियो क्लिप, तस्बिर, गन्तव्य विवरणात्मक सम्प्रेषण, प्रसारण र प्रवद्र्धन गर्नेछन् ।

तत्कालै हिमाल आरोहणको मौसम भएकाले सगरमाथा, नजिकिएको बुद्ध जयन्तीलगायतबारे सन्देशमुलक विषयवस्तु राखिने बताइएको छ । ट्रिप एडभाइजरले मङगलबारदेखि, बिबिसीले १४ दिनपछि र रोयटरले मे महिनाबाटै नेपालको पर्यटन सन्दर्भका सामग्री राख्ने बोर्डले जनाएको छ ।

सो अवसरमा पर्यटन सचिव अधिकारीले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न सम्झौताले महत्वपूर्ण प्रभाव पर्ने बताउनुभयो । नेपालको पर्यटनको अथाह सम्भावना रहेपनि ‘हवाई सम्पर्क’, भौतिक पूर्वाधार तथा पर्यटनयोग्य वस्तुको विकास र गन्तव्य प्रवद्र्धन नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेको भन्दै ती क्षेत्रमा प्रभावकारी कार्यक्रम अघि बढाइने बताए ।

उनका अनुसार बिबिसीबाट एसिया र युरोपका विभिन्न क्षेत्रमा नेपालको एक दिनमा करिब छ देखि १२ पटकसम्म नेपालको ३० सेकेन्डको भिडियो क्लिप प्रशारण हुनेछ भने बिबिसी ब्लगको साइटमा थुप्रै सामग्री राखिनेछ, अर्को रोयटरको नेटवर्कमा पनि पर्यटनको सकारात्मक र चाखलाग्दा सामग्री राखिने र ट्रिप एडभाइजरलाई नेपालको पर्यटन प्रवद्र्धनमा अधिक प्रयोग गर्ने समझदारी भएको छ ।

बोर्डको विवरण अनुसार सन् २०१६ मा सातलाख २९ हजार विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । सन् २०१५ मा पाँचलाख ५४ हजारले भ्रमण गरेका थिए । सन् २०१४ मा सात लाख ९० हजार र २०१३ मा सातलाख ९७ हजारले भ्रमण गरेका थिए । भूकम्प र नाकाबन्दीका कारण सन् २०१५मा पर्यटकको सङ्ख्या घटेको हो ।

नेपालले विगतमा ‘भिजिट नेपाल–१९९८, पर्यटन भ्रमण वर्ष–२०११ र पछिल्लो घुमफिर वर्ष–२०१७, जस्ता अभियान चलाएको छ । सरकारले ‘भिजन–२०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस