आखिर कहिलेसम्म खेप्ने जनताले सास्ति ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आखिर कहिलेसम्म खेप्ने जनताले सास्ति ?


प्रशासन विशेष ब्युरो

१० पुस २०७३, आइतबार


डडेल्धुरा । सत्ताशक्तिको आडभरोसा वा नायकको आलोकमा हेर्ने हो भने अहिलेको डडेल्धुरा नेपालको अर्को काठमाडौं हो । कारण डडेल्धुराका शेर अर्थात नेपालको पुरानो लोकतान्त्रिक र संसदको सब से ठूलो दल काँग्रेसका शक्तिशाली सभापति उनै डडेल्धुराका धर्तीपुत्र शेरबहादुर देउवा छन् ।

सत्ताको शिखर सिंहदरवारलाई मानक मान्ने हो भने मुख्य सत्तानायक दलका नेता पनि उनै डडेल्धुराका शेरको दल छ, काँग्रेस छ । तर सुदूरको त्यो डडेल्धुरा शक्तिनायक जन्माएर पनि, सत्ताको विरासतमा आफ्ना सन्ततीलाई विराजमान गराएर पनि उस्तै छ, उपेक्षा र समस्याका आहालहरुमा, चुलीहरुमा ।

भनिन्छ, कुनै पनि भूगोलका दशा वा अवस्था चिहाउने ऐना हुन् सडक संरचनाहरु । हो, सडक संजालले राजधानीसंग साईनो गाँसेका भए पनि तिनै सडक डडेल्धुराका कैयन् समस्याका मुहान भएका छन् । प्रसंग उही हो मापदण्ड विपरितका डडेल्धुराका सडकको अनि समस्या उही हो स्थानीय जनताको ।


जिल्लाको डुग्री–देवल, रडुवा–वडम–मणिलेक सडक, सिराड–रुपाललगायतका करिब आधा दर्जन ग्रामीण सडकमा यातायात सञ्चालन गर्न जोखिमपूर्ण ।

तितो सत्य हो की डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्ड विपरित रहेका छन् । सडकहरु निर्माण भई यातायात सुचारु अवस्थामा रहेको भएतापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको बुझिएको छ । कस्तो विकासे मजाक ? जिल्ला प्राविधिकलाई नै जानकारी छैन । कसरी बने गाउले सडक ? के छ तिनको हाल वा बेहाल ? विकास स्थानीय गाउले जनताको अवसर हो की दशा ? यही जिल्ला प्राविधिक कार्यालयको अनभिज्ञता नै प्रस्थान विन्दु हो सडक विकासका नाममा झांगिएको बेथितिको ठूलो संसार चिहाउने सानो ऐना ।

सरकारी निकायको नालायकीको त कुरौ छोडौं । जसले दैनिक उपभोग गर्छन्, तिनलाई पनि मतलब छैन सडकको बेहाल अवस्थाको । जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएका छैन । जिल्लाको डुग्री–देवल, रडुवा–वडम–मणिलेक सडक, शिराड–रुपाल लगायतका करीब आधा दर्जन ग्रामीण सडकमा यातायात सञ्चालन गर्न जोखिमपूर्ण रहेका छन् ।

ती भेगमा यातायात सञ्चालनका लागि मापदण्ड नभएका सडक रहेका छन् भने त्यसैमा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका यातायातका सवारी साधन मार्फत क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइन्छ । ग्रामीण सडक निर्माणका क्रममा प्राविधिकको नापनक्सा नभई उपभोक्ता समितिका पदाधिकारीसहित डोजर चालकको भरमा सडक निर्माण हुने गरेका छन् । यातायात सञ्चालनका लागि निर्माण गरिने मापदण्ड बिनाका सडक निर्माण भएका कारण, जुनसुकै बेला पनि ठूलो दुर्घटना हुनसक्ने प्राविधिक कार्यालयका इन्जिनियर दीपक ओझाले चिन्ता ब्यक्त गरे ।


ग्रामीण सडक निर्माणका क्रममा प्राविधिकको नाप नक्सा नभई उपभोक्ता समितिका पदाधिकारीसहित डोजर चालकको भरमा सडक निर्माण । जुनसुकै बेला पनि ठूलो दुर्घटना हुनसक्ने खतरा

जिल्लामा निर्माण भइरहेका अधिकांश ग्रामीण सडक निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालय डडेल्धुरालाई जानकारी नै नहुने गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठको भनाई छ । उनले रकमपछि विनियोजन गर्ने गरी स्थानीय ठेकेदारलाई सडक निर्माणको जिम्मेवारी दिने गरिएकाले आफुहरुलाई त्यति जानकारी नभएको बताएका छन् ।

स्थानीय वासिन्दाले आफैं रकम सङ्कलन गरी डोजर लगाएर सडक निर्माण गर्ने भएपनि त्यो सडकको नक्साङ्कनका लागि जिल्ला प्राविधिक कार्यालयलाई कुनै जानकारी नभएको श्रेष्ठका श्रेष्ठले बताए ।

यहीँनेर प्रश्न उठछ, उपभोत्ताले किन आफुखुसी सडक बनाउछन् ? अनि सरकारी तलबभत्ता खाएका सडक बिभागका कर्मचारी किन अनुगमन र निगरानी बेगर नै सडक बनाउन ईजाजत दिन्छन् ? सडक नै जोखिमका स्रोत बनिररहदा जिल्ला प्राविधिकहरु रमिते बनेर बसिरहन मिल्ने हो त ? अनुगमन गर्ने सरकारी निकायहरुको आखाँ कहिले खुल्ने ?

प्रतिक्रिया दिनुहोस