माथिल्लो तामाकोशीमा लगानीकर्ताको आकर्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माथिल्लो तामाकोशीमा लगानीकर्ताको आकर्षण


प्रशासन संवाददाता

६ माघ २०७५, आइतबार


काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार भएको एक सातामै लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारलाई आधार मान्ने हो भने एउटै कम्पनीको शेयर १२ हजार ४८९ पटक कारोवार भएको छ । कारोवार भएको शेयर सङ्ख्या भने सात लाख २९ हजार २३८ रहेको छ । सो कम्पनीको आजमात्रै रु २३ करोड ४३ लाख ४ हजार ५३१ मूल्य बराबरको कारोवार भएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीले अनलाइन कारोवार शुरु भएपछि एउटै कम्पनीको धेरैपटक शेयर कारोवार भएको पहिलो पटक हो । स्टकमा आज १४ हजार ४०० पटक शेयर किनबेच भएको छ । त्यसमा तामाकोशीको मात्रै १२ हजार ४८९ पटक शेयर कारोवार भएको छ । तर माथिल्लो तामाकोशीको शेयर मूल्यमा भने आज छ दशमलव १० प्रतिशतले घटेको छ । स्टकले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरेको हो ।

कालिका सेक्युरिटिजका प्रमुख नरेन्द्र सिजापतिले पनि एउटै कम्पनीको यति धेरैपटक शेयर कारोवार भएको पहिलो पटक भएको प्रतिक्रिया दिए । गत पुस २९ गतेदेखि उक्त कम्पनीको शेयर कारोवार शुरु भएको हो । कूल छ दिन कारोवार हुँदा निरन्तर पाँच दिन बजार बढेको भए पनि आज आएर घटेको हो । सो कम्पनीको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस