७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो


प्रशासन संवाददाता

२४ मंसिर २०७५, सोमबार


काठमाडौं । ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । यस अवसर पारेर सोमबार बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आहृवानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो । काठमाडौंको भृकुटीमण्डपबाट सुरु गरिएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापन गरिएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् ।

महिला हत्या, हिंसालगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सरकारलाई आग्रह गरे । उनले मानव अधिकार हनन्कर्तामाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए ।

राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालका घटनामा पीडितलाई न्याय दिन सरकारलाई पटक(पटक सचेत गराउँदै आएको छ । त्यसैगरी मानव अधिकारकर्मी सीताराम लामाले दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरे । उनले मानव अधिकारको प्रत्याभूति गराउने प्रतिवद्धताको पूर्ण पालन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

महिला अधिकारकर्मी सुशीला श्रेष्ठले महिला हिंसा, हत्यालगायतका घटना तत्काल अन्त्य गर्न सरकारसँग आग्रह गरिन् । उनले महिला हत्या, हिंसामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न पनि सरकारलाई दवाव दिइन् ।

प्रभातफेरीमा सहभागी भएका मानव अधिकारकर्मीहरुले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाइ नगर्न पनि सरकारलाई दवाव दिएका छन् । उनीहरुले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन पनि आहृवान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस