अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कास्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरेको हो । सोही अवसमा गत साता भक्तपुरमा भएको विद्या आर्जन उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको कुमुते ५० केजीमा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएकी आयुष तामाङलाई पनि सम्मान गरिएको थियो ।

पाँचैजना खेलाडीलाई सङ्घका उपाध्यक्ष रोशन विष्टले जनही रु पाँच हजारसहित सम्मान गरे। सो अवसरमा पाँचै पदक विजेतालाई सङ्घका सल्लाहकार एवं नेपाल भारोत्तोलन सङ्घका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले रु सात हजार मुल्य बराबरको झोलापनि प्रोत्साहनस्वरुप खेलाडीलाई प्रदान गरे ।

कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जितेवापत आठ वर्षीय आर्यनलाई सङ्घका उपाध्यक्ष किशनराज सिंहले २० हजार प्रदान गरे । सङ्घका सदस्य अच्यूत लामिछानेले पनि प्रोत्साहनस्वरुप आर्यनलाई पाँच हजार प्रदान गरे । नेपाल तेक्वान्दो सङ्घ काठमाडौंले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो । यसै वर्ष अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो, थाइल्यान्डको चौथो हिरोज तेक्वान्दो, वाटा तेक्वान्दो च्याम्पियनसिप र मकाउमा भएको मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता ४२ खेलाडीलाई सम्मानित गरेको कार्यसमितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए । पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) केशवकुमार विष्ट, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिशवर पोख्रेल, तेक्वान्दो सङ्घ प्रदेश–३ का अध्यक्ष केशव पुरीलगायतले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस