डोल्पामा दशैँभित्रै सडक पुग्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोल्पामा दशैँभित्रै सडक पुग्ने


१५ श्रावण २०७५, मंगलबार


डोल्पा । विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ । अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ । सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनौं भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाइएको छ ।

कूल लम्बाइ ११७ दशमलब सात किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जिरो पोइन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माण कार्य थालनी गरिएको थियो । वि.सं. २०७३ साउनमा रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म सडक निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

डोल्पा दुनैलाई सडक सञ्जालमा जोड्ने अन्तिम भिरको रुपमा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने तरपरे भिरमा काम गरिरहेको सेनाले जनाएको छ । खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भिर, श्रीविण्डे भिर, फोइ भिरलगायतका दर्जनौं विशाल भिरको निर्माण कार्य सम्पन्न गरेर अन्तिम भिरको रुपमा तरपरे भिर निर्माण भइरहेको छ । तरपरे भिर निर्माण हुनेबित्तिकै डोल्पा दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ । ‘सानोतिनो प्रयासले जाजरकोटदेखि डोल्पासम्मको सडक निर्माण कार्य सम्पन्न गरेर सडक कुदाउने सपना देख्नु सम्भव थिएन्, जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले भने ।

‘जाजरकोटदेखि डोल्पा जोड्ने सडक निर्माणको जिम्मा लिनु सेना स्वयमंको लागि चुनौतीको विषय थियो तर विभिन्न चुनौतीका बाबजुत पनि निर्माण कार्य अन्तिम चरण पुयाएको छ अब डोल्पालीको सपना साकार भइसकेको छ’, उनले भने । ‘सडक निर्माणको क्रममा मनमई भिर, काला पहाड, तल्नु भिर कुच्ची भिर, चिप्ले भिर, एैरी बथान भिर, फोई भिरजस्ता भिरसमेत छिचोल्दै सेना अगाडि बढेको उनले बताए । डोल्पासम्म सडक पु¥याउनका लागि ज्यानको बाजी लगाएर सेनाले काम गरिरहेको छ उनले भने ।

‘अब डोल्पाली जनताको सडक देख्ने सपनाले साकार रुप लिँदैछ । जाजरकोट–डोल्पा सडकखण्डको अन्तिम भिरको रुपमा तरपरे भिरमात्रै बाँकी रहेको कार्यदल प्रमुख पहाडीले बताए । ‘डोल्पालीका दुःखका दिन गए, डोल्पालीको पुस्तौँदेखिको सपना साकार पार्न सेना थाकेको छैन्’, उनले भने । ‘अब ५०० मिटर मात्रै सडक निर्माण गर्न बाँकी छ, दशैँभित्रै डोल्पा सदमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्छौँ’, कर्णेल पहाडीले थपे ।

 ‘डोल्पालीका दुःखका दिन गए, डोल्पालीको पुस्तौँदेखिको सपना साकार पार्न सेना थाकेको छैन्’

सडक निर्माणसँगै त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ हरियापानीसम्म जीप ट्र्याक्टरलगायतका यातायात सञ्चालनमा ल्याइएको छ । गत चैत २५ गते पूर्वशान्ति मन्त्री सत्य पहाडीद्वारा रुकुमको त्रिवेणी बजारदेखि–खदाङ हरियापानीसम्मको सडक उद्घाटन गर्दै यातायात सञ्चालनमा ल्याइएको हो । खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पाली जनताको जिल्ला बाहिरको यात्रासमेत छोटिएको छ । सदरमुकाम दुनैदेखि दुई दिनमै नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा पुगिन्छ । त्यतिमात्रै नभई खाद्यान आपूर्तिमा पनि सहज भएको डोल्पालीले बताएका छन् । वर्षौँदेखि आफैँ बोकेर र खच्चडको भरमा धानिएको डोल्पामा खाद्यानको मूल्य पनि घटेकाले सर्वसाधारण खुशी छन् ।

अहिले रुकुमको गोतामकोटदेखि हरियापानी बजारसम्म गाडी गुड्छन्, भने खदाङदेखि सिउरेनी बजारसम्म ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ । सडक निर्माण सामग्री ओसारपसार गर्नका लागि आफ्नै ट्र्याक्टर सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ । खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीव्र पारिएपछि दैनिक तीनसय कामदारले काम गरिरहेका छन् । अप्ठेरा भिर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनको प्रयोग भइरहेको सेनाले जनाएको छ । सडक निर्माणकै लागि खदाङ र धाउने गरेर दुई ठाउँमा नेपाली सेनाको निर्माणवेश टोली राखिएको छ । दैनिक चार–पाँच ठाउँमा ब्लास्टिङ गरिने र खदाङ–त्रिपुराकोट खण्ड निर्माणका लागि दुईवटा डोजर लगाएको सेनाले जनाएको छ ।

डोल्पा सदरमुकाम दुनै मोटर पु¥याउने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपछि डोल्पाली जनतामा खुशीेयाली छाएको छ । सुर्खेत, नेपालगञ्ज, काठमाडौँ पुग्न सल्यानको सल्लीबजार सुर्खेत छिन्चुबाटै पैदल हिँडेका मान्छे घर छोडेको तीन घण्टामै मोटर चढ्न पाउँदा खुशीले दंग परेका हुन् । ‘एक महिना हिँडेर काठमाडौँ पुगेको व्यक्ति मै हुँ, त्यतिखेर घरबाट हिँडेपछि सकुशल ज्यान फर्किन्छ, कि फर्किंदैन पत्तो हुँदैन थियो’ त्रिपुरासुन्दरी नगरपालिका–१ का ८० वर्षीया वयोवृद्ध रविप्रसाद न्यौपानेले भने । ‘नून चामलका लागि पनि हप्तौं हिँडेर रुकुमको राडी, चौरजहारी सल्यानको सल्लीबजारसम्म पुग्नुपथ्र्यो’ उनले विगत सम्झँदै भने । अहिले डोल्पा दुनैसम्म मोटरबाटो आउन पाँचसय मिटर मात्रै बाँकी छ भन्ने खबरले उनलाई हर्षित तुल्याएको छ । उनी भन्छन्, ‘सबैभन्दा ठूलो विकास मोटरबाटो आउनु रहेछ, गाडी पुग्यो भने सबै कुराको सहज हुन्छ ।’

अब दशैँभित्रै मोटरपुग्ने भएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ का तुलबहादुर बोहोरा पनि खुशीले दंग छन् । गाडी पुगेपछि आवतजावत सहजको कुरा त छँदैछ, बजार नपाएर त्यसै खेर गइरहेका स्याउ, ओखरलगायतका फलफूल र जडीबुटीले बजार पाउने उनमा विश्वास जागेको छ ।

प्रतिक्रिया दिनुहोस