वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग


५ माघ २०७४, शुक्रबार


सडक

म्याग्दी । आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने भएका छन् ।

म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सफल भएपछि आठ वर्षपछि श्रीमती पार्वती शर्मालाई देख्न पाउँदा शर्मा दंग परेका हुन् ।

आँखा देख्ने भएपछि शर्माले आफ्नो उपचारमा खटिएका चिकित्सकलाई धन्यवाद दिँदै श्रीमती पार्वती शर्माले गरेको दुःख अब आफूले गर्ने बताउँदै घर फर्किए । वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा २४ वर्ष बिताएका शर्माले आठ वर्षपछि श्रीमतीलाई देख्न पाएको बताए ।

यसैगरी, शर्माजस्तै तीनवर्ष अघि आँखाले देख्न छोडेपछि अरुको सहारामा जीवन बिताउँदै आएका बेनी नगरपालिका–५, पुलाचौरका हर्कबहादुर विक तीन वर्ष पछि आँखा देख्न सक्ने भएका छन् । तीनवर्ष पछि श्रीमती लालकुमारी विकलाई देख्न पाउँदा विक पनि दंग परेका छन् ।

उमेरले ६५ काटेका विकलाई आँखा बन्द भएपछि रात र दिन एकै लाग्थे । बूढेसकालमा आँखाले समेत धोका दिएपछि श्रीमतीको सहयोगमा दिन बिताउने गर्थे । शरीर र हात पाखुरा कमजोर भएपनि विकका आँखामा दृष्टि फर्किए पछि आफू युवा अवस्थामै फर्किएको महसुस भएको उनले बताए ।

केही दिन अगाडि बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा म्याग्दीको सदरमुकाम बेनीमा सक्रिय रहेका लायन्स क्लबले आयोजना गरेको शिविरमा लामो समयसम्म आँखा बन्द भएका बिरामीको आँखा खुलेपछि खुशियाली छाएको छ ।

आँखा देख्नसक्ने भएपछि हिमालयन आँखा अस्पताल, पोखराका डा हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीलाई बिरामीले धन्यवाद दिँदै घर फर्किएका लायन्स क्लब बेनी महारानीकी अध्यक्ष प्रमिला श्रेष्ठले बताए ।

“वृद्धवृद्धाको अनुहारमा खुशी देख्नु नै ठूलो सेवा हो । लायन्स सेवाका लागि समर्पित छ भन्ने पुष्टि समाजमा भइसकेको छ” उनले भने । शिविरमा ४६ जनाको मोतियाबिन्दुको शल्यक्रिया, चारजनाको सामान्य शल्यक्रियासहित १५० जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा अधिकांशको दाहिने आँखामा समस्या भेटिएको डा. अधिकारीले बताए ।

लायन्सले स्वास्थ्य, शिक्षालगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोर र रोग लुकाउने गरिएकाले पनि आँखाको समस्या भएका धेरै बिरामी स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।

गत महिना मलेसियामा व्यवसाय गर्ने बेनी नगरपालिका–१, रत्नेचौर स्थायी घर भएका दीपक बोगटीले स्व पिता ओमबहादुर बोगटी र भाइ लोकेश बोगटीको स्मृतिमा पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना गरेको आँखा शिविरमा ७०२ जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस