धादिङ बस दुर्घटना: मृतक चारको सनाखत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धादिङ बस दुर्घटना: मृतक चारको सनाखत


६ भाद्र २०८०, बुधबार


मलेखु । धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी-८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फूलबारी-११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

दुई महिला सहित छ जना पुरुषको दुर्घटना स्थलमै मृत्यु भएको छ । मृतक एक जना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए । उनी सकुशल रहेका छन् ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा घाइते छन् । १३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।

सम्बन्धित समाचार : त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी

सम्बन्धित समाचार : त्रिशुली नदीमा बस खस्यो

Tags :
प्रतिक्रिया दिनुहोस