जुन पार्टी आयो उसैको खाँटी सचिव सिंह शहरीमै रहन दौडधुपमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जुन पार्टी आयो उसैको खाँटी सचिव सिंह शहरीमै रहन दौडधुपमा


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । सरकार परिवर्तनसँगै यति बेला स्थायी सरकारसमेत भनिने कर्मचारीको नेतृत्वमा सरुवाको दौडधुप चलिरहेको छ । हरेक क्षेत्रमा हाबी राजनीतिबाट निजामती अछुतो रहने कुरै भएन । राम्रो ठाउँमा जान नेताकोमा धाउने कर्मचारी र आफू अनुकूल ल्याउन कर्मचारीलाई समाउने नेताहरूको सङ्ख्यामा पनि कुनै कमी छैन । यद्यपि यो अहिले मात्रै भइरहेको खेल भने होइन, विगतका सरकारहरूले नै चलाएको अलिखित कानुनकै निरन्तरता हो भन्दा हुन्छ ।

विचार धाराका आधारमा सामान्यतया अवसर लिने र दिनुलाई पनि त्यति अस्वाभाविक नमानिए पनि जुनसुकै सरकार आओस् सधैँ रोजाईको अड्डामा रजाइँ गर्ने र राजनीतिक परिवर्तनसँगै ‘म त तपाईँकै मान्छे’ भन्दै नेताको धाउने सचिवको सङ्ख्यामा पनि कमी छैन । यस्तै मध्येका एक हुन् डा. रमेश प्रसाद सिंह ।

अरबौँको बजेट रहने शहरी विकास मन्त्रालयमा आयोजना र कर्मचारी सेटिङमा माहिर सचिव कहलिएका छन् सचिव सिंह । शहरीको एक मात्र असली र खाँटी दाबेदार आफू मात्रै रहेको बताउने सिंह विभागको महानिर्देशक हुँदादेखि मन्त्रालयसम्मैका अनेककाण्डबारे सहरी मन्त्रालय मात्रै होइन, निजामतीका प्रायः कर्मचारी राम्रै जानकार छन् ।

हिजो ओली सरकार हुँदा उनकै मान्छे बनेका सिंह अहिले काँग्रेसको सरकार आएसँगै ‘हजुर म त काङ्ग्रेसकै मान्छे हो, मलाई त पूर्व राष्ट्रपति रामबरणले हुर्काएको मान्छे पो त’ भन्दै शशाङ्क कोइरालाकोमा पुगेका छन् । अब हुने सचिव सरुवामा शहरीबाट हट्ने भएपछि अनेक हाँगाबिँगा खोज्दै कोइराला निवाससम्म पुग्न भ्याई सकेका उनी यसअघिका सरकारमासमेत ‘तपाईँकै भित्रिया’ हो भन्दै शहरीमा पुगेका थिए । जबकि केही समय अघि मात्रै उनी फोरमका मान्छे भएको बताउँदै थिए ।

त्यसैको आडमा उनले तत्कालीन मन्त्री मोहम्मद इस्तिक राईलाईसमेत पेल्न खोजे । त्यसपछि इस्तिक राईले बालुवाटारमै गएर उनको बारेमा ब्रिफिङपछि तीन दिनमै उनको सरुवा ऊर्जा आयोग भयो । मन्त्रालयमा हुँदा आन्तरिक बजेट, आयोजना तथा कन्सल्टेन्सीमा रजाइँ जमाएका सिंह आयोगमा फिटिफिटी भएपछि उनी बालुवाटार तिरै सम्बन्ध बनाउन थाले । सो क्रममा उनले निकै दौडधुप गरे । जसका लागि उनले कैयूं व्यक्ति प्रयोग गरे । तर उनका बारेमा सबै बुझेको बालुवाटारले भित्रै पस्न नदिएपछि उनी एक चिनजानका मान्छेबाट सिंहदरवार सचिवालयमार्फत बालुवाटारसम्म पुग्दै र शहरी विकास मन्त्रालयमा फर्किन सफल भए । त्यसैको गुन तिर्न उनले ओलीको ‘उद्घाटन मोह’लाई सघाए ।

जसको पछिल्लो उदाहरण थियो गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । ६२ करोड सुरु लागत रहेको केन्द्र पछि ८१ करोडसम्म पुर्‍याए पनि यति कमसल काम भयो कि उद्घाटन गरेको केही दिनमै चुहिन थाल्यो ।

सम्बन्धित समाचार : गोदावरी सनराइज सम्मेलन केन्द्रको छानबिन हुने

ओली सरकारका खास मान्छे बनेर पछि त्यसलाई नै भर्‍याङ बनाउँदै विभाग तथा महत्त्वपूर्ण आयोजनाहरूमा आ–आफ्ना मान्छे पठाएर सेटिङ चलाए ।

सम्बन्धित समाचार : सचिव सिंहको खेलोमा सिनियर कर्मचारीलाई लात, जुनियरलाई विभागको महानिर्देशक !

अहिले सिंहको आँखा करोडौँको लागतमा सिंहदरवारमा निर्माण भइरहेको संसद् भवनमा छ । ठुला ठेक्कामा मात्रै होइन, त्यसपछि रङ, रोगन, कार्पेट, पर्दाका स–साना ठेक्कामासमेत स्पेशिफिकेसन नै चेन्ज गरेर कमिसनका लागि कमसल सामानहरूसमेत राख्न लागेको सिंहदरवार स्रोतले जानकारी दिएको छ ।

एमालेको असली मान्छे भनेर शहरी छिरेका सिंह त्यहाँबाट सरुवा भएपछि केही समय फोरमको खाँटी मान्छे बने । अहिले काँग्रेसको सरकार बनेपछि सचिव सरुवाको मुखमा म त काँग्रेसको मान्छे हो भन्न थालेका छन् ।

तर उनको यो चलाखीबारे देउवा सचिवालय अनविज्ञ भने छैन । मन्त्री नै को हुने भन्ने नै टुङ्गो नलागेको अवस्थामा सिधै बालुवाटारमा जोडिने उनको दाउ कसले पुरा गर्दो रहेछ भनेर सचिवालयले वाच गरिरहेको एक अधिकारीले जानकारी दिएका छन् । जो सरकारमा छ उसकै खास बनेर स्वार्थ पुरा गर्ने सचिव सिंहले काँग्रेस सरकारबाट कतिको त्यो पुरा गर्छन् त्यो हेर्न भने केही दिन पर्खनुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस