ठाकुर ज्ञवाली आइजिपीमा नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ठाकुर ज्ञवाली आइजिपीमा नियुक्त


२८ माघ २०७६, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) मा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी ज्ञवालीलाई आइजिपीमा नियुक्त गरेको हो ।

आइजिपी सर्वेन्द्र खनालले ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश पाएसँगै वरिष्ठ डिआइजीमध्ये पहिलो नम्बरमा रहेका ज्ञवाली नेपाल प्रहरीको २७औँ प्रमुखमा चयन भएका हुन् ।

२७ असार २०४७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ठाकुर २४ असार अर्थात् पाँच महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

सम्बन्धित समाचार : ठाकुर ज्ञवाली आइजिपी हुने पक्का

२०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । आईजीपीमा बढुवा गर्नका लागि कोही एआईजी नभएका कारण यसपटक पनि सिधै डीआईजीबाट बढुवा गरिएको हो।

प्रहरी नियमावली २०७२ को बढुवासम्बन्धी दफा ४१ अनुसार ‘प्रहरी अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा नायव महानिरीक्षकबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ,’ उल्लेख छ ।

नेतृत्व चयनमा जहिल्यै रडाको मच्चिने नेपाल प्रहरीमा निर्विवाद महानिरीक्षकको नियुक्ति विरलै मानिन्छ । यस पटक पनि अन्तिम घडीसम्म अनेकन् चलखेल भएका थिए । जसका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीले थिति बसाल्नु पर्छ भन्दै पहिलो नम्बरमा रहेका ज्ञवालीलाई नै नियुक्त गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार : आइजिपी को ?

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण मङ्गलवार मध्यरातबाट अनिवार्य अवकाशमा घर जाँदै छन् । उनीसँगै सेवा प्रवेश गरेका एआईजीहरू पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले समेत मङ्गलवारबाटै अवकाश पाउँदै छन्।

प्रहरी निरीक्षकको सोही ब्याजका १७ डिआइजी समेत अवकाश हुँदै छन्। अवकाश हुने डिआइजीहरूमा प्रहरी राजेन्द्रमान श्रेष्ठ, केदार रिजाल, सुरेशविक्रम शाह, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी हरिभक्त प्रजापति र मनोज नेउपाने छन्।

को हुन् महानिरीक्षक नियुक्त ज्ञवाली ? 

प्युठानको साविक बादीकोट गाविस(हालको झिम्रुक गाउँपालिका–१) मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् ।

नवनियुक्त आइजीपी ज्ञवाली इमान्दार र स्वच्छ छविका प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

उनि २०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा बढुवा भएका थिए।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवालीले रुकुम, बुटवल, अपराध महाशाखा, कर्मचारी प्रशासन शाखा, दाङ, बारा, झापा, अनुसन्धान ब्युरो(सीआईबी), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा रहेर काम गरेको अनुभव छ ।

संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू र दुईपटक अनपोल मिसनमा सहभागी भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस