जनताको बलिदान खेर गएको छैन : झलनाथ खनाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनताको बलिदान खेर गएको छैन : झलनाथ खनाल


६ चैत्र २०७५, बुधबार


काभ्रेपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताए । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा आज काभ्रेको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताए ।

उनले भने, ‘बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो ।’ उनले नेकपाले शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै आएको र सहयोग गर्ने प्रतिबद्धता जनाए । पूर्वप्रम खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको बताए । ‘पार्टी एकताको विकल्प छैन’, उनले भने, ‘अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब योबाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।’ उनले पूँजीवादबाट मुक्त हुन नेतालाई आग्रह गरे ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गोे लाग्ने बताए । उनले भने, ‘राजनीतिक प्रतिवेदन पनि तयार हुँदैछ, अध्यक्ष कमरेड आएपछि सबै टुङ्गो लाग्नेछ ।’

पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताए। उनले भने, ‘एकताबद्ध भएर प्राप्त उपलब्धीलाई संस्थागततर्फ लाग्नुपर्छ ।’ नेकपा स्थायी समिति सदस्य मणि थापाले जनताभन्दा ठूलो कुनै शक्ति नभएकाले जनताकै शक्तिलाई सर्वोपरी मान्नुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, प्रदेश सांसद लक्ष्मण लम्साल, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री, संयोजक खगेन्द्र राई र कोषाध्यक्ष प्रगति महराले शहीदको योगदानबारे चर्चा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस