कञ्चनपुर । कञ्चनपुरबाट काठ तस्करीमा संलग्न एक जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठको गोलिया काटिरहेको अवस्थामा भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले पक्राउ गरेको छ ।
वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको हो । कामी कृष्णपुर– ४ का बासिन्दा हुन् ।
काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ ।
काठ काट्ने कार्यमा संलग्न अन्य छ जना वन कार्यालयको टोली देखेर भागेको र उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ । काटदै गरेको सालको केही भाचग गायब भएको पनि वन कार्यालयले जनाएको छ ।