समायोजन भई सकेका कर्मचारीले पत्र कहिले पाउँछन् ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समायोजन भई सकेका कर्मचारीले पत्र कहिले पाउँछन् ?


प्रशासन विशेष ब्युरो

१३ फाल्गुन २०७५, सोमबार


कर्मचारी समायोजन प्रक्रिया चलिरहँदा देशभरबाट हाम्रा पाठक तथा कर्मचारीले समायोजनबारे देखिएका अस्पष्टता तथा आफूलाई लागेका जिज्ञासाहरू लेखी पठाएका छन् । यसरी प्राप्त प्रश्न तथा जिज्ञासाहरूमध्ये केही साझा प्रश्नहरूको सम्बन्धित अधिकारीबाट समाधान खोज्ने प्रयास गरेका छौँ । जसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीसँग प्रशासन डट कमले गरेको कुराकानी जस्ताको त्यस्तै ।

स्वास्थ्य सेवाका कर्मचारीहरू समायोजन भएर प्रदेश तथा स्थानीय तहमा जाँदा दुई ग्रेड बढ्छ कि बढ्दैन ?
ग्रेड बढ्छ । समान तहमा गयो भने दुई ग्रेड बढ्छ । एक तहमाथि गयो भने बढ्दैन ।

स्तर वृद्धि भएको निर्णय मिति पछि र लागू हुने मिति अघि छ तर फाराम भर्दा निर्णय मिति माग गरिएको कारणले ज्येष्ठता गणना गर्दा फरक पर्न गयो, यो कसरी कुन प्रक्रियाबाट सच्याउन सकिन्छ ?
ज्येष्ठता मिति भनेको निर्णय गरेर हाजिर गरेको मितिलाई मानिन्छ, त्यसैले हाजिर मिति अनुसार नै हुन्छ ।

पाँच वर्ष पुग्न केही दिन मात्रै बाँकी स्थानीय रोजेका कर्मचारीका लागि तातो दूध निल्नु न ओकेल्नु भयो, समायोजनले त बरबाद गर्‍यो ?
चिन्ता गर्नु पर्दैन । पाँच वर्ष पुगेपछि तह वृद्धि हुने कि नहुने भन्ने विषय आउँदो स्थानीय सेवा सम्बन्धी कानुन तथा प्रादेशिक निजामती सेवा सम्बन्धी कानुनले स्पष्ट पार्नेछ ।

सङ्घमा समायोजन भएका कर्मचारीले अब मन्त्रालय, विभाग र कार्यालय रोज्न पाउँछ कि पाउँदैनन् ?
सङ्घमा समायोजन भएको कर्मचारीलाई सङ्घीय सरकारले सम्बन्धित सेवा समूह सञ्चालन गर्ने मन्त्रालयले खटाउने हो, रोज्ने भन्ने होइन ।

स्थानीयमा कामकाज गर्दै गरेका कर्मचारी जो सङ्घमा समायोजन भएका छन् तिनको सरुवा पत्र कसरी दिने ?
सामान्य प्रशासन मन्त्रालयले नै समायोजन पत्र दिने हो । पत्र गरिसकेपछि आफ्नो स्थानीय तहबाट रवाना लिएर सङ्घको सम्बन्धित मन्त्रालयमा हाजिर हुन आउने हो

समायोजन भई सकेका कर्मचारीले पत्र कहिले पाउँछन् ?
पत्र जारी भइरहेको छ । सहसचिवसम्मको सबैलाई पत्र गई सकेको छ । उपसचिव तहसम्मका लागि पत्र जाने क्रममा छ । अन्य समायोजन भई सकेका कर्मचारीका पत्रहरू पनि प्रिन्ट हुँदै छन् । क्रमशः सबैलाई सोही अनुसार दिईदै जान्छ ।

२०७०/१०/०१ गते सुरु नियुक्ति भएका कर्मचारीहरूको एक तह बढुवा नदिएर किन प्रदेश र स्थानीय तहमा समायोजन गरिएको होला ? समायोजन ऐन अनुसार माथिको मितिमा नियुक्ति पाएकाहरू त २०७५/१०/०१ गते पाँच वर्ष पुग्छ ? आधार केलाई मानियो, समायोजन ऐन कि सूचना ?
कर्मचारी समायोजन ऐन लागू भएको मिति मङ्सिर २३ गतेलाई आधार मानियो ।

अवकाश भई सकेको व्यक्तिहरूको पनि समायोजन भएको देखियो ? यसले समायोजित हुने अन्य कर्मचारीलाई पनि असर गर्दैन र किन यस्तो लापरबाही ?
कतिपय तथ्याङ्कहरू स्पष्ट नहुँदा खेरी यस्तो समस्या आएको र एक÷दुई प्रतिशत प्राविधिक समस्या आएको हो । अरू कर्मचारीको त्यस्तो केही पनि छैन । अलिअलि भएको इरर छ भने निवेदन दिन पाइन्छ, मन्त्रालयले हेर्छ ।

ज्येष्ठता सुचीमा लागु मिति भनेको हाजिरी मिति कि नियुक्ति मिति ?
हाजिरी मिति ।

यहाँलाई पनि समायोजनबारे कुनै जिज्ञासा छ भने हामीलाई लेखि पठाउन सक्नुहुनेछ । त्यसका लागि हाम्रो इमेल रहेको छ [email protected]

Tags :
प्रतिक्रिया दिनुहोस