पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाजलाई भ्रष्टाचार मुद्धा, सातवर्षको जेल सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाजलाई भ्रष्टाचार मुद्धा, सातवर्षको जेल सजाय


१० पुस २०७५, मंगलबार


इश्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार मुद्धा लागेको छ । उनलाई भ्रष्टाचार मुद्धामा सात वर्षको जेल सजाय सुनाइएको छ ।

सरिफलाई भ्रष्टाचार विरुद्धको एक अदालत (नेशनल एकाउन्टिबिलिटी ब्यूरो) ले मंगलबार अल अजीजीया स्टील मिल्स सम्बन्धी मामिलालाई लिएर सात वर्षको जेल सजाय सुनाएको हो ।

गत जुलाईमा एक अर्कै मामिलामा अदालतले सरिफ, उनकी छोरी र ज्वाईलाई जेल सजाय सुनाएको थियो । तर, सेप्टेम्बरमा उनी छुटेका थिए ।

सरिफको अनुपस्थितिमा उनका भाइ शाहबाज शरीफको नेतृत्वमा उनको पार्टी मुश्लिम लिग चुनावमा गएकोमा अहिलेका प्रधानमन्त्री इमरान खानको पार्टीले चुनाव जितेको थियो । इमरान प्रधानमन्त्री भएपछि गएको सेप्टेम्बर महिनामा सरिफलाई रिहा गर्न इश्लामावाद हाइकोर्टले आदेश दिएको थियो ।

यो नयाँ फैसलाको अघिल्लो दिन हिजो आइतबार मात्रै सरिफ लाहौरबाट इश्लामावाद आएका थिए । आज अदालतले आयको तुलनामा अधिक सम्पति भएको भन्दै सरिफलाई दोषी ठहर गरेको हो ।

अदालतको फैसला अघि मुश्लिम लिगले आफ्ना नेता सरिफलाई पुनः जेल पठाइए बृहत प्रदर्शन गर्ने चेतावनी दिएको थियो भने सोमबारको सुनुवाईका क्रममा पनि अदालतमा मानिसहरुको भीड लागेको थियो ।

स्टील मिल सरिफका पिता मियाँ मोहम्मद सरिफले सन् २००१ मा साउदी अरबमा स्थापना गरेका थिए जसको काम काज नवाज शरिफका छोरा हुसेन नवाजले हेर्दै आएका थिए । सरिफको परिवारले स्टिल मिलका लागि केही रकम साउदी सरकारसँग लिएको दाबी गरेको थियो । पाकिस्तानको अदालतले भने त्यस सम्बन्धी कागजात नभएको भन्दै विश्वास गर्न नसकिने र सरिफले गलत काम गरेर पैसा कमाई मिलमा लगानी गरेको जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस