डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै एक हजार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै एक हजार


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


प्याराडाइज, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गरेका छन् ।

शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताए । क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका गाउँ सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अरु १ हजार भन्दा बढी बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । ‘यो धेरै दुःखद् छ,’ ट्रम्पले प्याराडाइजमा भने ।

डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् । डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरेका छन् । डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

‘विवरण तलमाथि हुनसक्छ, खोजी तथा उद्धार भइरहेको छ,’ एक सरकारी उच्च अधिकारीले पत्रकारसँग भने । खोजी अझै जारी रहेकाले मृतकको सख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीले बताएका छन् ।

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो । डढेलोबाट झण्डै १० हजार निजी घर र दुई हजार ५०० भन्दा बढी अन्य भवन ध्वस्त भएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस