कर्मचारीले नेतालाई आफूजस्तै बनाए : प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीले नेतालाई आफूजस्तै बनाए : प्रचण्ड


२१ कार्तिक २०७५, बुधबार


पोखरा । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीले नेतालाई आफूजस्तै बनाएको आरोप लगाएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेको आरोप लगाएका हुन् । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरूपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनको भनाइ थियो ।

‘अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएपछि पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसाथ गर्ने कर्मचारी ल्याइन्छ । तर, नेपालमा त्यस्तो छैन, बरु नेपालमा त ब्युरोक्रेसीले राजनीतिक नेतृत्वलाई बिस्तारै आफूजस्तै बनाउँछ र नयाँ प्रणाली असफल बनाउँछ,’ उनले भने ।

कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि उनले तर्क गरे । अब संघ सरकारदेखि सबै सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल चलिरहेको र चाँडै त्यसको रिजल्ट आउने उनले बताए ।

अध्यक्ष प्रचण्डले सरकारले गियर बदल्ने बेला आएको दोहोर्‍याए । यद्यपि उनले सरकारको गियर बदल्ने भनेको पुराना मन्त्री हटाएर नयाँ मन्त्री बनाउने कुरा नभएको स्पष्ट पारे । उनले भने, ‘गियर बदल्ने भनेको मन्त्री हटाउने भनेको होइन, गति बढाउने हो ।’

प्रतिक्रिया दिनुहोस