पुस्तकमा संघीय प्रणालीका विविध आयाम समेटिएका छन् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुस्तकमा संघीय प्रणालीका विविध आयाम समेटिएका छन्


प्रशासन विशेष ब्युरो

११ आश्विन २०७५, बिहिबार


पुस्तकमा संघीय प्रणालीका विविध आयाम समेटिएका छन्

प्रशासन व्यवस्थापन र सार्वजनिक वित्त व्यवस्थापनका विषयमा नियमित कलम चलाउँदै आएका छन्, दामोदर रेग्मी । उनी नेपाल सरकारका सहसचिवसमेत हुन् । उनीद्वारा लिखित लोक सेवा आयोग, सार्वजनिक संस्थान, प्रतिष्ठान लगायतका प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम, विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा आधारित ‘संघीय शासन प्रणाली, सुशासन र विकास’ पुस्तक बजारमा आएको छ । प्रशासन, व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यापार नीतिमा विशेष दखल राख्ने रेग्मीका करिब तीन सयभन्दा बढी लेखहरू र सहलेखनमा केही पुस्तकहरू प्रकाशित भइसकेका छन् । प्रशासन डटकमको साप्ताहिक स्तम्भ लोक सेवा विशेषका नियमित लेखकसमेत रहेका रेग्मीसँग पुस्तकका विविध पक्षबारे प्रशासन डटकमले गरेको कुराकानी ।

‘संघीय शासन प्रणाली, सुशासन र विकास’ पुस्तकका बारेमा केही भनिदिनुस् न ?
पुस्तकको नामले पनि प्रस्ट पारिसकेकै छ । यो पुस्तकले शासकीय प्रणालीका सफलताका तीन मूल आधारभूत पक्ष शासन प्रणाली, प्रशासन प्रणाली र त्यसको प्रभावलाई समेटेको छ । शासन प्रणाली अन्तर्गत संघीयताका विविध आयामहरू समेटिएका छन् । शासकीय प्रणालीको प्रभावकारी संचालनको राजनीतिक तथा प्रशासनिक क्षेत्रको प्रभावकारिताले सुशासन प्राप्तिमा सहयोग गर्छ । यस कार्यमा व्यावसायिक र सिर्जनशील प्रशासनले मूल भूमिका निर्वाह गर्नुपर्छ । असल शासन प्रणाली र सुशासनबाट समृद्धि र विकास सम्भव छ । त्यसकारण यो पुस्तक यी तीन पक्षहरूको व्यावहारिक आयामको अन्तरसम्बन्धको संयोजन हो ।

पुस्तकमा ४२ वटा विभिन्न शीर्षकहरू समावेश रहेका छन् र यी शीर्षकहरूलाई विभिन्न पाँच आयाममा वर्गीकरण गरिएको छ । जसमध्ये १२ संघीय शासन प्रणाली, ७ सार्वजनिक मामिलाको व्यवस्थापनमा सदाचारिता, १० सुशासन र विकास, ६ प्रतिभा व्यवस्थापन र ७ सहकर्ता व्यवस्थापनसँग सम्बन्धित छन् ।

वर्तमान अवस्थामा देशमा खड्किएका विषयहरूलाई पुस्तकको शीर्षक जुराउनुभएछ, कसरी प्रस्तुत गर्नुभएको छ थोरै प्रकाश पारिदिनुहुन्छ कि ?
कुनै लेख, विचार वा अवधारणा सामाजिक, राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिवेशका मुद्दाहरूबाट बाहिर जान सक्दैन । हामीले अनुभूत गरिरहेका, अपेक्षा गरिरहेका, बौद्धिक वा आम जनसमुदायबाट अभिव्यक्त भावनाहरूलाई एकीकृतरूपमा प्रवाह गर्ने दायित्व लेखकीय कार्यमा संलग्न व्यक्ति वा संस्थाबाट निर्वाह भइरहेको हुन्छ । प्रशासन डट कमले पनि यही दायित्व निर्वाह गरिरहेको छ । हामी पनि यही दायित्वको सेरोफेरोमै छौँ । नेपालमा तीव्रतम गतिमा भइरहेको राजनीतिक परिवर्तन स्वरूप हामीले ग्रहण गरेको राजनीतिक र प्रशासकीय प्रणालीका सामयिक अन्तरवस्तुको बारेमा एउटा दृष्टिकोण प्रस्तुत हुनु आवश्यक ठानी पुस्तकको यो विषय र तदनुरूपका सामग्रीहरूको छनोट भएको हो ।

संघीयतामा सुशासन कायम गर्दै कसरी विकासमा फड्को मार्न सकिन्छ ?
शासन प्रणाली साधन र साध्य दुवै हो । राम्रो शासन प्रणालीबाट मात्र विकास, समृद्धि र जन अधिकारको संरक्षण सम्भव छ । तर, शासन प्रणाली राम्रो हँुदैमा यी सबै कुरा हासिल भइहाल्छन् भन्ने पनि होइन । किनकि यसलाई हामी कसरी प्रयोग गर्छौँ त्यो महत्वपूर्ण पक्ष हो । संघीय शासन प्रणाली आफैमा प्रजातान्त्रिक अभ्यासको उच्च रूप हो, सुशासन र विकास प्रजातन्त्रको सफलताका कसीहरू हुन् । प्रजातन्त्र, सुशासन र विकास सोझो अर्थमा राजनीतिक आयाममा पर्ने विषयवस्तुहरू हुन् । संघीय शासन प्रणाली हामी आफैले रोजेको र आफैले निर्माण गरेको संविधानको प्रतिफल हो ।

साधन राम्रो रोजियो, अब यसको उचित प्रयोग आवश्यक छ । यसमा राज्यीय र गैर राज्यीय सहकर्ता सबैको सकारात्मक योगदान, साझा समर्पण, इच्छाशक्ति र परिश्रमको आवश्यकता छ, जसबाट संघीय शासन प्रणालीले विकास, समृद्धि र सकारात्मक परिवर्तनतर्फ हामीलाई डो¥याउन सक्छ । यसको सफलतामा राजनीतिक संयन्त्र अर्थात् निर्वाचित अधिकारीको अतिरिक्त योग्यता प्रणालीबाट छानिएका विज्ञतायुक्त प्रशासन, सामाजिक तथा आर्थिक पुँजी र ऊर्जाका संवाहक शासकीय सहकर्ताहरूको भूमिका पनि अति नै महत्त्वपूर्ण हुने गर्छ ।

संघीयताको मूल आदर्श भनेको जनताको निकटतम पहुँचमा सरकार हो र शासकीय प्रणालीमा जन अपनत्वको सामाजिक मूल्यको सवलीकरण गर्ने सामर्थ्य राख्ने प्रणालीसमेत हो । यी दुई आयामको उपयोगबाट हाम्रो विकासको यात्रा सहज र प्रभावकारी बन्न सक्छ ।

पुस्तकमा समेटिएका विषयहरूलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्नेबारे पनि सोचेरै लेख्नुभएको होला नि ?
सिद्वान्त वा अवधारणा नारामै सीमित रहे भने त्यसको कुनै अर्थ रहँदैन त्यसले केवल कागजी शोभा मात्र प्रदान गर्छ । नेपालको राजनीतिक, प्रशासनिक र पर्यावरणीय परिवेशका सबल र कमजोर पक्षको लेखाजोखासहित पुस्तकमा विषयहरू उठान गरिएका छन् ।

हरेक अवसरसँग चुनौती र हरेक चुनौतीसँग अवसर जोडिएर आएकै हुन्छन् । यस सन्दर्भमा हाम्रो दायित्व भनेको चुनौतीलाई क्रमिकरूपमा न्युनीकरण गर्ने र अवसरको अत्यधिक उपयोग गर्न सक्नु हो । प्रारम्भिक यात्राहरू कठिन हुन सक्छन् । तर, प्रस्थान बिन्दुमा लिइने अग्रसरता र सकारात्मकताले गन्तव्य प्राप्तिमा अवश्य सहयोग पु¥याउँछ । यसर्थ यसको व्यावहारिक पक्ष सम्भव छ ।

भनेपछि प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रमका लागि मात्र नभई नीति निर्माण तहमा बस्नेहरूका लागि पनि यो पुस्तक उपयोगी छ भन्न खोज्नुभएको हो ?
हो, मैले पुस्तकको भूमिकामा भनिसकेको छु कि प्रस्तुत पुस्तकले विश्वविद्यालय शिक्षामा प्रयोगमा ल्याइएका यससँग सम्बद्ध समसामयिक विविध विषयहरूमा विद्यार्थीहरूलाई एकीकृत सामग्रीहरूको पहुँचमा भोग्नुपरेको समस्याको निराकरण गर्न, प्रतिस्पर्धात्मक परीक्षामा सामेल हुने परीक्षार्थीहरूले सूचना र सामग्रीको भीडमा रुमल्लिरहनुपरेको परिवेशमा विश्वासिलो र दिगो सारथि बन्ने, साथै संघीय शासन प्रणालीले सिर्जना गरेका नवीन संरचनाका राजनीतिक र प्रशासनिक पदाधिकारीहरूको लागि पनि उपयोगी हुने अभिलाषा लिएको छ । यसको साथै बौद्धिक व्यक्तित्व, अनुसन्धानकर्ता र अन्य क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूसँग पनि पहुँच कायम राख्ने उद्देश्य छ ।

तपाईँ आफै पनि नेपाल सरकारको सहसचिव हुनुहुन्छ, जसको नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका रहँदै आएको छ, वर्तमान अवस्थामा यहाँले नै पुस्तकमा उल्लेख गरेका विषयहरूमा कसरी सघाउँदै हुनुहुन्छ ?
अति सान्दर्भिक प्रश्न गर्नुभयो । मेरो लेखन जानी नजानी मेरो पेसागत अनुभव वा भोगाइबाट प्रभावित छ । कार्य सम्पादन वा विद्यमान कार्यवातावरणको परिवेशमा आफूलाई उभ्याउँदा वा सेवाग्राहीको धरातललाई सम्झेर आफै सेवाग्राही बनेर उभिँदा प्रशासनयन्त्रले गरिरहेका कार्यहरू, जन अपेक्षाको सन्दर्भमा स्वसामथ्र्यता वृद्धि गर्नुपर्ने आवश्यकताहरू र हाम्रा व्यक्तिगत र संस्थागत मनोवृत्तिमा सुधार र परिमार्जनका व्यापक सम्भावनाहरू विद्यमान छन् । हाम्रो वा मेरो भूमिका पनि यसै परिवेशमा घुमिरहनुपर्छ ।

नीति निर्माण र कार्यान्वयन तह दुवैमा हाम्रो विद्यमान संरचनाले आशावादिताको सञ्चार गर्ने भूमिका निर्वाह गर्नुपर्ने प्रशासकको दायित्वभित्र आफूलाई पाउनु मेरो लागि गर्वको विषय हो ।

यति बेला राज्यलाई खड्केका अन्य विषयहरू के हुन् र तिनबाट कसरी पार पाउन सकिन्छ ?
नेपालमा छोटो अवधिमा धेरै राजनीतिक परिवर्तनहरू भए । राजनीतिक परिवर्तनले पक्कै पनि सकारात्मक परिवर्तन ल्याएका छन् । तर, राजनीतिक परिवर्तनको गतिसँगै आर्थिक परिवर्तनको गति अघि बढ्न सकेन कि ? विकासले आशातीत गति लिन सकेनन् कि ? सुन्दर, समृद्ध र विकासशील नेपालको क्षितिज अझै स्पष्ट भएनन् कि भन्ने चासो र चिन्ता पनि उत्तिकै सान्दर्भिक छन् ।

विकास, समृद्धि, जनजीविकाको उत्थान, देश र जनताको आर्थिक, सामाजिक आयाममा परिवर्तन प्रजातन्त्र र संघीय शासन प्रणालीका सकारात्मक प्रभावहरू हुन् । अब हामीले अँगालेको शासन प्रणालीले सुखद परिणाम दिन सक्नुपर्छ । हामीसँग प्रशस्त सम्भावनाहरू छन्, यिनको विवेकपूर्ण उपयोगको आवश्यकता छ ।

हामी फेरि पुस्तकमै फर्कौँ, पुस्तक कसका लागि बढी उपयोगी छ, परीक्षार्थी कि प्रशासक ?
अघि नै भनी सकियो, यसले भिन्न वर्गका पाठकको ठुलो दायरालाई समेट्ने प्रयास गरेको छ । यस विषयमा चासो राख्ने सबैको लागि पुस्तक उपयोगी छ ।

पुस्तक कसरी प्राप्त गर्न सकिन्छ ?
पुस्तक ऐश्वर्य प्रकाशनद्वारा प्रकाशित भएको र चैतन्य इन्स्टिच्युटले वितरण गर्ने जिम्मेवारी लिएको छ । चैतन्य इन्स्टिच्युट र यसका आधिकारिक बिक्रेताहरूमार्फत पुस्तक प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पाठकहरूबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
लेखनले मलाई ठुलो समूहसँग चिनाइदिएको मात्र होइन कि धेरै अन्तरङ्ग मित्रहरूको कुञ्ज नै तयार गरिदियो । पाठकहरूबाट उत्साह र उत्प्रेरणा नपाएको भए यो पुस्तक अझै ढिलो आउन सक्थ्यो । पुस्तक प्रकाशित हुँदैछ र भएको सूचना सामाजिक सञ्जालमा आएपछि थोरै समयमा प्राप्त पृष्ठपोषणले उत्साहमा झन् बढेको छ । पाठकहरूबाट अभिव्यक्त मेरा अन्य प्रकाशन वा लेखहरूप्रति प्राप्त शुभेच्छा र सद्भाव यस पटक पनि प्राप्त हुनेछ भन्ने विश्वासमा छु ।

Tags :
प्रतिक्रिया दिनुहोस