स्थानीय तहबाट कर्मचारीलाई धमाधम फिर्ता पठाइदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय तहबाट कर्मचारीलाई धमाधम फिर्ता पठाइदै


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाले नियमविपरित एक शाखा अधिकृतको काज फिर्ता गरेको छ ।

गाउँपालिकाले शाखा अधिकृत खगेन्द्रबहादुर मल्लको काज फिर्ता गरेको हो । नियमअनुसार कर्मचारीलाई काजमा खटाउने कार्यालयले मात्रै काज फिर्ता गर्न पाउने र मुलुक संघीयतामा गएसँगै सबै स्थानीयतहमा तत्कालको व्यवस्थापनका लागि केन्द्रबाट नै कर्मचारी खटाइएको अवस्थामा उनलाई गत मंगलबार गाउँपालिकाले काज फिर्ता गरेको पत्र थमाएको हो ।

‘गाउँपालिकाभित्र शैक्षिक कार्यक्रम र गाउँ शिक्षा समितिमा सदस्य सचिव भई कामकाज गर्दा समन्वय हुन नसकेको र गाउँपालिकाभित्र शैक्षिक गतिविधि सञ्चालन गर्न अप्ठेरो पर्ने देखिएकाले काज फिर्ता गरिएको छ,’ गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

हेर्नुस् पत्र


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले अहिलेको अवस्थामा सबै कर्मचारी केन्द्रले नै खटाउने र लोकसेवा आयोग स्थापना भई सोबाट कर्मचारी भर्ना भएपछि मात्रै स्थानीय तहको आफ्नै कर्मचारी हुने बताए ।

स्थानीय तहमा कर्मचारी अपुग रहेको भन्दै सबैतिरबाट माग भई आएको अवस्थामा कर्मचारी फिर्ता गर्नु उचित नभएको प्रवक्ता अधिकारीले बताए । यसरी खटाइएका कर्मचारी फिर्ता पठाइए मन्त्रालय अरु कर्मचारी पठाउन बाध्य नहुने पनि अधिकारीले बताए ।

यसरी फिर्ता पठाइएको कर्मचारीको अन्यत्र पोष्टिङ नहुने र स्थानीयले लिन नमानेको अवस्थामा कर्मचारी नै नचाहिने रहेछ भन्ने बुझ्नु पर्ने प्रवक्ता अधिकारीले बताए ।

‘यदी कर्मचारीले राम्रो काम गरेन र गलत गर्यो भने कारवाही गर्नुपर्यो’, उनले प्रशासनसँग कुरा गर्दै भने, ‘काम सन्तोषजनक भएन भने निजामती सेवा ऐन अनुशार कारवाहीको प्रक्रिया थाल्नु पर्यो । तर यसरी कर्मचारी नै फिर्ता गराउनु त नी !’

अधिकारीका अनुसार जसले काजमा खटाएको हो उसले फिर्ता गर्न पाउँछ तर खटाइएको कार्यालयले यो कर्मचारी चाहिँदैन भन्दै फिर्ता गर्न पाउँदैन । अहिले धेरै ठाउँमा यस्तो विकृति देखा परेको बताउँदै उनले असन्तुष्टि व्यक्त गरे । आफु अनुकुलको कर्मचारी राख्न खोज्ने, माथिल्लो पोष्टको कर्मचारी पठाउँदा फिर्ता गर्ने प्रवृति स्थानीय तहमा बढ्नु गलत भएको उनले बताए ।

‘केही स्थानीय तहमा यस्ता समस्याहरु देखिएका छन्’, प्रवक्ता अधिकारीले भने, ‘यसको समाधानका लागि मन्त्रालयले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।’ मन्त्रालयले संचालन गरेको अधिमुखीकरण कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडी बढाउँदै लैजाने र यस्ता समस्या विस्तारै हट्दै जाने विश्वास मन्त्रालयले लिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस