मन्त्री पण्डितले अब सिसिटिभी क्यामेराबाट नियाल्ने छन् कर्मचारीका गतिविधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्री पण्डितले अब सिसिटिभी क्यामेराबाट नियाल्ने छन् कर्मचारीका गतिविधि


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । नेपाल सरकारका एक मन्त्रीले मन्त्रालयका गतिविधि नियाल्न सिसिटिभी क्यामेरा जडान गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयभित्रका विभिन्न शाखाबाट हुने काम तथा सेवाग्राहीका गतिविधि अवलोकन गर्न सिसिटिभी क्यामेरा जडान गरेका हुन् ।

मुलुकभरका ८३ हजारभन्दा बढी कर्मचारीसँग सम्बन्धित रहेको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयमा हुने भीडभाड तथा कर्मचारीका गतिविधि नियाल्न १६ क्यामेरा जडान गरिएको मन्त्री पण्डितका स्वकीय सचिव ओशिम आलमले बताए ।

‘सरुवा, बढुवालगायत अन्य प्रशासनिक कामका लागि आउने कर्मचारीहरूबाट अनावश्यक भीडभाड बढ्न गई नियमित कामकाजमै अवरोधसमेत हुने गरेको अवस्थालाई मध्यनजर गर्दै प्रशासनिक गतिविधिहरूलाई चुस्त तथा दुरुस्त बनाउन सिसिटिभी क्यामेरा जडान गरिएको हो,’ स्वकीय सचिव आलमले भने, ‘मन्त्रालयमा को व्यक्ति आए, कहाँ गए र के कामका लागि आए भन्नेबारे समेत जानकारी हुनेछ ।’

मन्त्री पण्डितको कार्यकक्षसहित मन्त्रालयका सचिव, सहसचिवलगायत स्वकीय सचिवालयको कार्यकक्षको स्क्रिनबाट मन्त्रालयका गतिविधि नियमन गर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस