एकता घोषणा ‘चैत २३ अगाडि नै’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकता घोषणा ‘चैत २३ अगाडि नै’


प्रशासन विशेष ब्युरो

११ चैत्र २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमाले–माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन्।

दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो।

ओलीले ८ गते बिहीबार दाहालसँगको भेटमा पनि आफ्नो भारत भ्रमणको मिति २३ देखि २५ सम्म तय भइसकेको र त्यसअगाडि नै सकभर एकताको काम टुंग्याएर भारत भ्रमणमा जान सकिए सकारात्मक सन्देश जाने भन्दै अनौपचारिक छलफल गरेका थिए। त्यसदिन दुई अध्यक्ष (ओली–दाहाल) बीच कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको थियो।

शुक्रबार दुवै नेताले अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई छुट्टाछुट्टै कार्यदलमा रहेका पार्टी नेतासँग अनौपचारिक छलफल गरी कार्यदलले गरिरहेको तयारीको विषयमा बुझेका थिए। त्यसपछि शनिबार दुई अध्यक्ष थप छलफलमा बसेका थिए। उक्त छलफलमा कार्यदलको काम करिब सकिने चरणमा रहेकाले द्रुतगतिमा काम अगाडि बढाएर भए पनि भारत भ्रमणअगाडि नै पार्टी एकताको प्रस्ताव ओलीले गरेका थिए।

ओलीको त्यस्तो प्रस्तावमा दाहालले पनि सकारात्मक जवाफ दिएर आन्तरिक तयारीका लागि केन्द्रीय कार्यालयको हेडक्वार्टर बैठक बोलाएका थिए।

आफ्नै निवास खुमलटारमा बसेको माओवादी पार्टी नेताहरूको बैठकमा दाहालले ओलीले आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकता टुंग्याउन प्रस्ताव राखेको खुलासा गरेका थिए। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस