फोरमलाई पनि सरकारमा ल्याउने कसरतमा ओली–प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फोरमलाई पनि सरकारमा ल्याउने कसरतमा ओली–प्रचण्ड


१० फाल्गुन २०७४, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् । सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन् ।

संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ । त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने ।

एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ । छलफलमा एमालेबाट सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा फोरमबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए । फोरमले विगतदेखि उठाउँदै आएको संविधान संशोधनका मुद्दामा एमालेको धारणा मागेको थियो । स्रोतका अनुसार दुवै पक्ष कार्यदल बनाएर संशोधनका विषय पहिचान गर्न सकारात्मक देखिएका छन् ।

तर, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने छलफल प्रारम्भिक चरणमै रहेकाले एमाले र माओवादीको धारणा प्रस्ट नभएसम्म सरकारमा सहभागी नहुने बताए । उनले भने, ‘अहिले छलफल प्रारम्भिक चरणमै छ, संशोधनबारे उहाँहरूको कस्तो धारणा आउँछ, परिस्थिति सकारात्मक बने सरकारमा जाने हो, नत्र प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्छौं ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस