काठमाडौं । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त त्रिलोचन भट्टले शनिवार जिम्मेवारी सम्हालेका छन्।
कमजोर आर्थिक अवस्थाकै कारण कामका लागि भारत पसेका भट्टले जेठो छोराको भूमिका निर्वाह गर्न १६ वर्ष भारतमा काम गरे । यस क्रममा उनले चौकीदारी समेत गरे । आप्रवासन समस्यालाई नजिकबाट बुझेका र स्वयं महसुस गरेका भट्ट माओबादी पार्टिसंग जोडिए र यतिबेला उनी ७ नम्बर प्रदेशको मुख्यमन्त्री बनेका छन् ।
भारतमा काम गर्न जानु नियति जस्तै बनेको सुदूर तथा मध्य पश्चिमका अधिकाँस मानिसहरुको पीडालाई महसुस गरेका भट्ट आफैंले पनि त्यो पीडा भोगेर आएको हुनाले युवाले विदेशमा गएर त्यो पीडा भोग्न नपरोस् भन्ने सोचका साथ राजनीतिमा लागेको बताउँछन् । अब दुइ छाक टार्नकै लागि कोही पनि युवाले भारतमा चौकीदारी गर्नु नपरोस् भन्छन् मुख्यमन्त्री भट्ट ।
प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको सुदूर पश्चिम जलस्रोत र जडिबुटीका लागि समेत धनी क्षेत्रका रुपमा चिनिन्छ । यिनै सम्भावनाहरुलाई पहिचान गर्दै यस क्षेत्रको समग्र विकास गर्न सकिने मुख्यमन्त्री भट्टको धारणा छ ।