मोरङ । उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन्।
पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने १७ वर्षीय सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने १६ वर्षीय सन्देश खवास, १७ वर्षीय विकास तामाङ, पानी ट्याङ्की बस्ने १६ वर्षीय मन्जिल माझी, तरुण चोक बस्ने १६ वर्षीय सपन खत्री, १५ वर्षीय प्रतीक बराइली र १६ वर्षीय सरोज परियार रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ्ग थापाले बताए।
आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरूको समूहबिच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइवी साँध्न उनीहरूले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ।
छुरा प्रहारबाट गम्भीर घाइते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा श्रेष्ठको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकामध्ये पाँच जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले हिजो दिउँसै पक्राउ गरेको थियो भने थप दुई जनालाई साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
सम्बन्धित समाचार : छठ पूजा हेर्न जाँदा छुरा हानी हत्या







