चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५:०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो । आजै साँझ ७:०० बजे देखि ७:३० बजेसम्म पार्टी सभापतिको उम्मेदवारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । पार्टी केन्द्रीय सदस्यका लागि ७:३० बजे देखि ९:३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । उनका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली राति १०:०० बजे प्रकाशन गरिनेछ ।
उम्मेदवार विरुद्ध दाव विरोध गर्न राति १०:३० बजे सम्मको समय दिइएको छ । दाव विरोध परेका उम्मेदवारको जाँचबुझ राति ११:०० बजेसम्म गरिने छ । राति ११:१५ बजे उम्मेदवारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेदवारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११:४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।
बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ । पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।







