काठमाडौँ । बैतडीस्थित महाकाली नदी आसपासका क्षेत्रमा भइरहेको नदीजन्य सामग्री संकलन तथा उत्खनन गतिविधिमाथि जिल्ला प्रशासन कार्यालयले निगरानी तीव्र बनाएको जनाएको छ।
पञ्चेश्वर गाउँपालिका-४ अन्तर्गत जंगल्तडा क्षेत्रमा सडक पूर्वाधार निर्माणका लागि बालुवा, गिट्टी तथा ढुंगा संकलन भइरहेको प्रशासनको भनाइ छ। उक्त सामग्री पाटन-पञ्चेश्वर सडक स्तरोन्नति आयोजनामा प्रयोग भइरहेको बताइएको छ।
स्थानीय बासिन्दाबाट निर्माण प्रयोजनभन्दा बढी मात्रामा नदीजन्य पदार्थ निकालिएको भन्ने गुनासो आएपछि प्रशासनले अनुगमनलाई प्राथमिकतामा राखेको जनाएको छ।
गाउँपालिकाबाट आवश्यक निर्माण सामग्री संकलनका लागि अनुमति प्रदान गरिएको भए पनि त्यसको दुरुपयोग भएको आशंका व्यक्त गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय अनुगमनका क्रममा पाँच वटा टिप्पर नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा रहेका सवारीसाधन सम्बन्धित स्थानीय तहलाई आवश्यक कारबाहीका लागि बुझाइएको प्रशासनले जानकारी दिएको छ।







