काठमाडौँ । एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालविरुद्ध कर तथा भन्सार छली गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गरिएको छ।
उजुरीमा अग्रवालले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरेर राज्यलाई ठूलो परिमाणमा राजस्व नोक्सानी पुर्याएको दाबी गरिएको छ। विदेशबाट सवारीसाधन आयात गरी बिक्री वितरण गर्ने क्रममा उनले करोडौँ रुपैयाँ बराबरको कर छली गरेको आरोप लगाइएको छ।
प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमा अग्रवाल र उनीसँग सम्बन्धित कम्पनीहरूको आर्थिक कारोबारमाथि विस्तृत छानबिन गर्न तथा दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।
उजुरीमा २०६७ सालको नक्कली भ्याट बिल प्रकरणसँग पनि अग्रवालको नाम जोडिएको उल्लेख गर्दै विभिन्न कम्पनी खडा गरेर कर छली गरिएको आरोप लगाइएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८०र८१ मा एमएडब्ल्यू वृद्धि कमर्शियल भेहिकल्स प्रालिले आयात गरेको फोटोन इभी गाडीमा भन्सार छली भएको दाबी गरिएको छ। भन्सार विभागले करिब ६ करोड रुपैयाँ बक्यौता रहेको भन्दै रकम बुझाउन पत्राचार गरेको भए पनि हालसम्म भुक्तानी नगरिएको आरोप उजुरीमा उल्लेख छ।
उजुरीकर्ताले अग्रवालले पहिले सञ्चालन गरेको ‘मोरङ अटो वक्र्स’ नामक कम्पनी बन्द गरी मिल्दोजुल्दो नाम प्रयोग गरेर अन्य कम्पनीमार्फत कारोबार जारी राखेको दाबी गरेका छन्।
उनीमाथि आफ्नै कम्पनीहरूबीच कारोबार देखाएर कर छली गरेको आरोपसमेत लगाइएको छ। यस विषयमा २०६७ सालदेखि हालसम्मका सबै कम्पनीहरूको भ्याट, आयकर तथा खर्च विवरण छानबिन गर्न माग गरिएको छ।









