काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रूपमा मनाउन आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यहरूसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको संघर्षको प्रतिफलका रूपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन जोड दिएका हुन् ।
नेपाल सरकारले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । “गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रूपमा मनाउनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ ।”
आजै सम्पन्न एमालेको सचिवालयको बैठकले गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा प्रेस चौतारी नेपालले सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसारको अगुवाइ गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
प्रधानमन्त्री ओलीले आफूलाई देशभक्तहरू प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरू मन नपर्ने स्पष्ट पार्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गरे।
प्रथम महिला राधिका शाक्यसमेत सहभागी उक्त भेटमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले आफूहरूले नेतृत्वमा आएपछि वर्ष २०८२ लाई प्रशिक्षण वर्षका रूपमा मनाउनेलगायतका योजनाहरू प्रस्तुत गरेका थिए ।