काठमाडौँ। संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्ट निजामती कर्मचारीहरूले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।
राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा कर्मचारीमैत्री प्रावधान नरहेको भन्दै कर्मचारीहरूले सेवाअवधिको तह वृद्धिको समय ७ वर्षबाट ५ वर्ष कायम गर्न, समायोजन भएका कर्मचारीलाई एकपटक छनोटको अवसर दिन, अन्तरप्रदेश सरुवाको व्यवस्था गर्न र तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषामा समेट्न माग गरेका छन्।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले विधेयकको हालको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने बताउँदै सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
