काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन् ।
देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागितामा ४७औँ लामा देश दर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गरेका हुन् ।
“मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जानेछ”, राष्ट्रपतिले भने । त्यसको लागि बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रवर्द्धनमा टेवा पुर्याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
“बौद्ध तीर्थस्थलको भ्रमण कार्यक्रमले मुलुकमा दिगो शान्ति र विकासका लागि टेवा मिल्नेछ भन्ने कुरामा विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने । उनले यस यात्राबाट फर्केका लामा तथा आनीले देशका विभिन्न बौद्ध गन्तव्यमा पुगेर केवल तीर्थयात्रा मात्र गर्नुभएको छैन, नेपाली समाजको धार्मिक ऐक्यबद्धता र आत्मिक समृद्धिको सन्देश पनि बोकेर आएको विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा गुम्बा विकास समितिले पुर्याउँदै आएको योगदान सराहनीय छ भने ।