काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कन्चनपुरका ५२ वर्षीय लोकजन खड्का छन् । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न ठाउँहरूबाट पक्राउ गरेको हो ।
गुरुङले अजरबैजान पठाउने भन्दै ५ लाख ठगी गरेको आरोप छ । अधिकारीले जापान पठाउने भन्दै ३ लाख, घिमिरेले पनि जापान पठाउने भन्दै ५० हजार र खड्काले थाइल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको पाइएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।