काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारीलाई पक्राउ गरेर मात्रै नपुग्ने भन्दै प्रकरणको मुख्य संरक्षक र मालिकसम्म पुगेर अनुसन्धान गर्न जोड दिए।
सांसद खतिवडाले विभिन्न प्रकरणमा सधैं ड्राइभर र भरियालाई मात्रै पक्रने, तर मुख्य दोषी र तिनको कनेक्सनबारे खुलासा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “केही महिनाअघि टोखाबाट २५ करोड बराबरको युरो र डलर बरामद गरियो। ड्राइभर र व्यापारीलाई थुनियो, तर मुख्य संरक्षक को हो ? मालिक को हो ? कनेक्सन कहाँ-कहाँ छ ? को-को संलग्न छन् ? सरकारले सदनलाई जानकारी गराओस्।”
राजस्व अनुसन्धान विभागले यो प्रकरणमा कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४, ५ र ९ अनुसार कसूरमा मुद्दा चलाइएको हो।
लामाले यसअघि चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका छन्। सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुन: कसूर गरेकोले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ।
बरामद गरिएको विदेशी मुद्रा (१३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर) विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१) बमोजिम जफत गर्न माग गरिएको छ। साथै, वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको ट्रकलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोका, नियन्त्रण र जफत) ऐन, २०७४ को दफा ११ अनुसार जफत गर्न मुद्दा दायर भएको छ।