कञ्चनपुर । डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका-१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ ।
गौंडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप ट्युबेल जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। “एउटा डिप ट्युबेलको क्षमता ६० बिघा जग्गामा सिँचाइ गर्ने गरेको छ”, उनले भने, “चार वटा डिप ट्युबेलबाट २४० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ ।”
डिप ट्युबेलमार्फत सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रका किसानलाई माछा पालन, उखु खेती, तरकारी खेती, बसन्ते मकै खेती, केरा खेतीलगायत गर्न निकै सहज भएको छ । सो सुविधाले समयमै धान, तोरी, मसुरो र गहुँ बाली किसानले लगाउन पाएका छन् । बालीको उत्पादकत्व विगतको तुलनामा निकै वृद्धि हुँदै गएको किसानहरूको भनाइ छ ।
“विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नु पर्दथ्यो”, केरा खेती गर्दै आएका मोहन रानाले भने, “सिँचाइको सुविधाले चाहेको बेला सिँचाइ गर्न पाएका छौँ, केरा खेतीबाट मनग्य आम्दानी लिँदै आएका छौँ ।”
सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा निकै वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताए । उनका अनुसार डिप ट्युबेल जडानबाट ४०० बढी किसान लाभान्वित भएका छन् ।