काठमाडौँ । सरकारले संक्रमणकालीन न्यायसम्बद्ध सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आज बस्ने बैठकले यी दुई आयोगमा अध्यक्षसहित कुल १० जना पदाधिकारी नियुक्त गर्ने निर्णय गर्ने प्रशासन सिंहदरवार स्रोतले जनाएको छ।
प्रशासन स्रोतका अनुशार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वन्यायाधीश महेश थापालाई नियुक्त गरिँदैछ। उनको नेतृत्वमा अच्युत भण्डारी, टिका ढकाल, शाही र कौशिल्या कुमारी ओझालाई सदस्यको रूपमा नियुक्त गरिनेछ। यस्तै, बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लीलादेवी गडतौलाको अध्यक्षतामा चार अन्य सदस्यहरू नियुक्त हुनेछन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा यी नियुक्तिहरू हुन लागेका हुन्। यी दुई आयोग २०७६ मा गठन भएका थिए, तर प्रभावकारी रूपमा काम गर्न नसकेपछि विभिन्न सर्च कमिटीहरू गठन गरिएका थिए। हालको सिफारिसले आयोगहरूलाई पूर्णता दिई संक्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ।