काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभामा जारी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलमा भाग लिँदै उनले संकटापन्न आर्थिक अवस्थालाई उकास्ने गरी आगामी बजेटमा ध्यान दिन सुझाव दिए ।
सांसद केसीले बजेटका सिद्धान्त सकारात्मक भएपनि प्राथमिकता अझ स्पष्ट पार्नुपर्ने सरकारलाई सुझाव दिए । उनले भने, “राष्ट्रिय राजस्वलाई मितव्ययी बनाउन सरकारसँगै संसद् पनि जिम्मेवार हुनुपर्छ । राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्न अर्थमन्त्रीले साहस गर्नुपर्छ ।”
सार्वजनिक ऋण प्रत्येक वर्ष बढ्दै गएको बताउँदै नेता केसीले सामान्य प्रशासन खर्च धान्न र ऋण तिर्नका लागि ऋण लिनुपर्ने बाध्यता हटाउनुपर्ने बताए। “पुजिँगत खर्च निकै कम भएको सन्दर्भमा आगामी बजेटमा त्यसमा पनि ध्यान दिनुपर्छ”, उनले भने ।
सांसद केसीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत विषयमा उचित बजेट व्यवस्थाका लागि विशेष ध्यान दिन सुझाव दिए । सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।