काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाली भाषा अध्ययन गर्ने जाने डी–२ र डी–४ भिसाको लागि मात्र अध्ययन अनुमति पत्र एनओसी रोकिएको जनाएको छ ।
मन्त्रालयका अनुसार स्नातकमा आईएलटीएस र कोरियन भाषा पढेर जान लागेकाले एनओसी पाउने छन् । त्यसैगरी कोरियामा स्नातकोत्तर अध्ययनको लागि पनि एनओसी पाउने मन्त्रालयले जनाएको छ ।
डी-२ र डी-४ भिसामा जाने विद्यार्थीहरूले दुःख पाएको गुनासो आएपछि कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा २ महिनाको लागि मन्त्रालयले एनओसी स्थगित गरेको छ । तर वैशाख २७ गतेसम्म आवेदन दिएकाले भने एनओसी पाउने मन्त्रालयले जनाएको छ ।
डी-४ भिसामा कोरिया गएका विद्यार्थी ६ देखि १ वर्षसम्म भाषा अध्ययन गर्छन् । त्यसपछि डी-४ बाट डी-२ भिसाको लागि विद्यार्थीले अर्को विश्वविद्यालयमा आवेदन दिने गरेका छन् । सो क्रममा कोरियाको कालोसूचीमा परेका विश्वविद्यालयमा भर्ना हुने गरेको दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
यो विषयमा अध्ययन उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले प्रतिवेदन बनाएपछि थप निर्णय गरिने मन्त्रालयले जनाएको छ ।