सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक २० वर्षमुनिका महिला खेलाडीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि छनोट हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा र प्रदेश फुटबल संघ कर्णालीको व्यवस्थापनमा वीरेन्द्रनगरमा छनोट प्रतियोगिता आयोजना हुन लागेको हो।
यो प्रतियोगिता वीरेन्द्रनगरमा गरिनुका पछाडि सहरको सक्रिय र डायनामिक महिला नेतृत्व रहेको बताइएको छ। स्थानीय सरकारको सहकार्य र सुविधा सम्पन्न पूर्वाधारको उपलब्धताले गर्दा वीरेन्द्रनगरलाई छनोट गरिएको आयोजक टिमको भनाइ छ ।
फुटबल क्षेत्रमै पहिलो पटक कर्णाली प्रदेशका युवतीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा भाग लिन अवसर दिने यो प्रतियोगिताले महिला खेलकुदको क्षेत्रलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।
