वीरेन्द्रनगर (सुर्खेत) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगरेको बताएका छन् ।
यहाँबाट प्रकाशन हुँदै आएको युग आह्वान राष्ट्रिय दैनिकको २५ औँ रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताए। प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील छ भने ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए । ‘‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो,’’ उनले भने, ‘‘यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’’
साथै मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्न नहुनेमा जोड दिए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उनले बताए । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएको बताए। सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको मन्त्री गुरुङको भनाइ थियो ।