काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।
आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्दै त्यसको पूर्वतयारीमा लाग्न लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।
उनले ०७३ सालमा बुद्धजयन्ती मनाउँदा हावाहुरीले मञ्च भत्काएपछि अहिले कार्यक्रम भएको हल बनाउने घोषणा गरेको स्मरण गर्दै तर हलको व्यवस्थापनका विषयमा मञ्चबाटै असन्तुष्टि व्यक्त गरे ।
‘०७३ सालमा बुद्धजयन्ती मनाउन आएका थियौँ, तर सबै हावाहुरीले टेन्ट भत्कायो, कति जना हिलै हिलो बनियो, अस्तव्यस्त भयो अनि मैले अर्को वर्ष हलमा कार्यक्रम गर्ने घोषणा गरेको थिएँ’ उनले भने ‘राष्ट्रपति विद्यादेवी भण्डारी तथा विदेशी पाहुनासमेत सहभागी उक्त कार्यक्रम बिथोलिएपछि सोही सभाबाट लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गरेको थिएँ । केही समयमा काम थालियो, केही समयमा म बाहिर परेँ, पछि आएर सुरु भएको हो, तर यो हल यस्तो इकोसिस्टम बनाउने चाहेको होइन, कार्यक्रममा बोल्ने र सहभागी हुने कसैको आवाज नै सुन्न नसकिने यस्तो पनि हल हुन सक्दैन, तत्काल पूर्ण इकोसिस्टममैत्री बनाइनु पर्दछ । अर्को बुद्ध जयन्तीको कार्यक्रम सुविधा सम्पन्न हलमा अन्तर्राष्ट्रियस्तरको गरिने छ ।’