मेयरमाथि कुटपिटको गम्भीर आरोप, प्रहरी भन्छ, ‘मेयरमाथि उजुरी परेको भए पनि आरोप मुद्दाको तहमा पुगेको छैन’
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालमाथि कुटपिट गरेको घटनामा संलग्न भनिएका नगरप्रमुख किशोरी साह कलवार अहिलेसम्म पनि उन्मुक्त छन् भने उनका सहयोगी मात्रै पक्राउ परेका छन्।
घटनासँग जोडिएका मेयरका सहयोगी मानिने सन्फी यादवलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँको सिंहदरवार परिसरबाट पक्राउ गरिएका यादवलाई जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको प्रशासन स्रोतले जानकारी दिएको छ। यादव केही दिनअघि नगरप्रमुख कलवारसँगै काठमाडौँ आएका थिए।
प्रशासकीय अधिकृत जयसवालले नगर प्रमुख कलवार, वडा नम्बर ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी अनुसार, कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए।
हेर्नुहोस् अधिकृत जयसवालले दिएको उजुरी:
उक्त घटनामा संलग्न भनिएका वडा सदस्य गुप्ता भने फरार छन्।
यस विषयमा प्रतिक्रिया दिँदै बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले मेयरमाथि उजुरी परे पनि अहिलेसम्म आरोप मुद्दाको तहमा नपुगेको बताए । उनका अनुसार अनुसन्धान जारी छ, तर कानुनी प्रक्रिया अघि बढाउने अवस्था अझै बनेको छैन।
यस प्रकरणले स्थानीय तहमा जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हुने दबाब र दमनसँगै सहजै उन्मुक्ति हुने गरेको अवस्था देखाएको छ भने स्थानीय प्रशासनिक प्रणालीभित्रको शासकीय संयन्त्रमाथि नै प्रश्न चिन्ह उठाएको छ ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतद्वारा मेयरविरुद्ध मुद्दा दायर, कानुन विपरीत कार्य गर्न दबाब दिएको आरोप