काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।
हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत यसलाई बदल्नुपर्ने बताएका हुन् ।
सुनसरीको धरानमा आइतबार किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले हालको निर्वाचन प्रणाली चुनावमा पैसा खर्च गर्न सक्नेहरूको पक्षमा रहेको बताए ।
‘संविधानमा अहिले व्यवस्था गरिएको निर्वाचन प्रणाली जनताको पक्षको होइन, पैसावालाहरूको पक्षको निर्वाचन प्रणाली हो,’ पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘यसलाई बदलेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद् रहने निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ र त्यसका लागि संविधान संशोधन अपरिहार्य छ ।’
उनले संविधानलाई अझै बढी समावेशी र समाजवाद उन्मुख बनाउन आवश्यक रहेको बताए ।
शान्ति प्रक्रियामा आएपछि माओवादी जनताबाट केही टाढा भएको दोहोर्याउँदै ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको र अब देशका सबै उत्पीडित वर्ग, जाति, लिंग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा रहेको दाबी गरेका छन् ।
उनले पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका नेता र दलहरूले माओवादीसँग सहकार्य गर्नु पर्ने बताए । देशमा व्याप्त विकृति, बिसंगती र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्न त्यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।