म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत पर्यटक र पूर्वाधारका पर्खाइमा छ ।
पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक भित्रिन सकेका छैनन् । समुन्द्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामीण वस्ति, पहाडी भूगोल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
मुनाका बासिन्दा मदन पुनले प्राकृतिक हिसाबले सुन्दर र मनोरमस्थल लाखेत सधैँ सुनसान भएको बताए । “दृश्य अवलोकनका साथै शान्त र एकान्त वातावरण पनि लाखेतको विशेषता हो,” उनले भने “मुना र फलीयागाउँ हुँदै ढोरपाटन, गुर्जा, डोल्पा र धौलागिरि चक्रीय पदमार्गमा आउने पर्यटकलाई लाखेत घुमाएर बसाई लम्बाउन सकिन्छ ।”
लाखेत नजिकैको खर्क र बारीमा हिउँदयाममा गाईभैंसीका घुम्ती गोठ राख्ने गरिन्छ । गोठालाको दैनिकी र जीवनशैलीले पनि पर्यटक लोभ्याउन सक्ने सम्भावना छ । मुना र फलियागाउँदेखि करिब ३० मिनेट उकालो पैदलयात्रा र सवारी साधनमा १० मिनेटमा लाखेतमा पुगिन्छ । केही वर्षअघिसम्म मकै, कोदो र आलु खेती हुने लाखेतको बारी बाँझिन थालेको छ । घुम्ति पशुगोठ लैचाने चलन हराएको छ ।
युवा पुस्ता विदेश पलायन र बसाइसराइका कारण बारी बाझिनुका साथै घुम्ती गोठ हराएको हो । लाखेतमा बनभोजस्थल बनाउन आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन वन कार्यालयमार्फत सार्वजनिक शौचालय र दृश्य अवलोकन स्थल निर्माण भएको थियो ।
संरक्षण र उपभोग नहुँदा शौचालय र दृश्य अवलोकन स्थल अलपत्र भएको छ । धवलागिरी गाउँपालिकाले मुनादेखि लाखेतसम्म सडक पुर्याएको छ ।
मुनादेखि धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने सडक लाखेतको नजिकै छ । मालिका जोड्ने सडक स्तरोन्नति, फलीगाउँ र मुनादेखि लाखेत जोड्ने पदमार्ग निर्माण गर्न आवश्यक छ । साथै यहाँको विशेषता र आकर्षणको बारेमा प्रचारप्रसार नभएकाले पनि ओझेलमा परेको हो ।
लाखेतलाई बनभोजस्थलको रूपमा विकास गर्न पहल गरेको धवलागिरी–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । मुना र फलीगाउँमा बास बस्ने पर्यटकलाई हाईकिङ गराएर लाखेतसम्म पुर्याउने र दृश्य अवलोकन गराउने व्यवस्था मिलाउन पहल गरेको उनले बताए ।