काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीको आध्यात्मिक ऊर्जा र भक्ति भावनाले ओतप्रोत ‘जय श्रीराम’ भजनको भिडियो आज सार्वजनिक गरिने भएको छ ।
शुक्रबार पोखराको गण्डकी कोटि होमबाट विशेष समारोहका बीच सार्वजनिक गरिने भएको हो । भजनको भिडियो विष्णुमाया पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।
आर.बी.केसीको शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको यो भजन केवल एक गीत नभई शाश्वत प्रेम, श्रद्धा र समर्पणको आध्यात्मिक अभिव्यक्ति हो। भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र धर्म मार्गतर्फ सबैलाई आकर्षित गर्छ।
मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर बिसीको आत्मस्पर्शी गायन सुन्न सकिन्छ, जसमा हेमन्त भट्टराई, आर.बी. केसी र स्वयं गायक/गायिकाहरूको कोरसले दिव्यता थपेको छ।
भिडियोमा कमल ढकाल मुख्य पात्रको भूमिकामा प्रस्तुत छन्। निर्माण पक्षका अनुसार, उनको अभिनय काठमाडौँ महानगरका मेयर जस्तै ऊर्जावान्, प्रतिबद्ध र प्रेरणादायी छ। भिडियो पोखरा, काठमाडौं र जनकपुरका विभिन्न आध्यात्मिक स्थलहरूमा तीन दिनसम्म रेड क्यामराबाट छायांकन गरिएको हो। टेकेन्द्र शाहको सम्पादन र एस।के। श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको यो भिडियो पवित्रता र भक्ति भावनाको अनुभूति गराउनेछ।
आज हुने भव्य सार्वजनिक कार्यक्रममा गीतकार, संगीतकार तथा निर्देशक आर.बी. केसी, गायक/गायिका, कलाकारहरू, सञ्चारकर्मी, धर्मप्रेमी र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
निर्माण टोलीका अनुसार, ‘जय श्रीराम’ हालसम्मकै उच्च बजेटमा निर्माण गरिएको नेपाली भजन हो। यो केवल संगीत नभई श्रीरामप्रतिको प्रेम, श्रद्धा र आध्यात्मिक समर्पणको उज्यालो संगम हो, जसले प्रत्येक दर्शक र श्रोताको हृदयमा शान्ति, विश्वास र सकारात्मक ऊर्जा प्रवाहित गर्नेछ।