काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले धनी व्यक्तिलाई विपन्नताको सिफारिस नगर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबारबाट सञ्चालनमा ल्याइएको ‘जिपी कोइराला लायन्स हेमो डायलाइसिस युनिट’ को शुभारम्भ गर्दै सो कुरा बताएका हुन् ।
विपन्नले मात्र पाउने सुविधा धनीले लिने गरेको पाइएकाले त्यसलाई सुधार गर्न वास्तविकताको आधारमा मात्र सिफारिस गर्नुपर्ने मन्त्री पौडेलले बताए । सहरमा चार वटा घर भएका धनीले पनि सिफारिसको आधारमा सुविधा पाउने अवस्था भएकाले अन्त्य गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले धनीलाई विपन्न भनेर सिफारिस गरिएमा सिफारिस गर्नेबाट समेत रकम असुल गर्ने नियम बनाउन लागिएको बताए । मन्त्री पौडेलेले भने, ‘वडाध्यक्षज्यूहरू तपाई धनीलाई गरिब भनेर सिफारिस नगरिदिनु होला, अब पनि सिफारिस गर्नुभयो भने उपचारको खर्च सिफारिस माग्ने र लिने दुवैले रकम तिर्नुपर्ने व्यवस्था गर्न लागेका छौँ ।’
मदिरा, चुरोटमा करको दायरा बढाएर स्वास्थ्य सुरक्षा कोषमा रकम वृद्धि गर्न लागिएको मन्त्री पौडेलले जानकारी दिए । देशका सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्धता गर्ने सरकारको योजना रहेको मन्त्री पौडेलले जानकारी दिए । देशका सबै कर्मचारीलाई आयको दुई प्रतिशत स्वास्थ्य सुरक्षा कोषमा जम्मा गर्ने प्रावधान राखेर उपचारका लागि स्रोत सुनिश्चित गर्न लागिएको उनले बताए ।
हाल सरकारसँग उपचारका लागि कोषमा रकम अभावले भएकाले समस्या झेल्नु पर्ने भएकाले नियम बनाउन लागिएको उनको भनाइ छ ।
लायन्स क्लबको सहयोगमा सात थान डायलाइसिस उपकरण, एक हजार क्षमताको आरओ प्लान्ट, जनशक्ति र भौतिक पूर्वाधार जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले व्यवस्थापन गरी सञ्चालन गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल १५ जनालाई सेवा प्रदान गरिने छ । आगामी आर्थिक वर्ष ३० जनालाई प्रदान गर्ने गरी व्यवस्थापन गरिने छ ।
जीपी अस्पतालमा यस क्षेत्रमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरू लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सको विशेष सहयोग रहेको छ । डायलासिस सेन्टर स्थापना भएपछि शुक्ला गण्डकीसहित भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ र स्याङ्जाको हरिनासका बिरामीले लाभ लिन सक्ने लायन्स डायलसिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले जानकारी दिए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि सहयोग गरेको केन्द्रले जनाएको छ । उक्त केन्द्रमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।
दक्षिण एसियाकै उत्कृष्ट श्वास प्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वास प्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा, नवलपरासी लगायतका बिरामी सेवा लिन आउने केन्द्रले जनाएको छ । सो अवसरमा मन्त्री पौडेलले भारत सरकारसँग तीन सय शय्या क्षमताको अस्पताल सञ्चालनका लागि पूर्वाधारका साथै उपकरण सहयोग गर्न अनुरोध गरिए बमोजिम काम अघि बढिसकेको बताएका थिए ।