काठमाडौँ । भरतपुर महानगरपालिकाले सोमबारदेखि दोस्रो चरणको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ ।
यो कार्यक्रमअन्तर्गत गत वर्ष ६८ वर्षदेखि माथिका उमेर समूहका १७ हजार ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा पाएका थिए । यो वर्ष ६० देखि ६८ वर्षसम्मका करिब १२ हजार नागरिकलाई स्वास्थ्य परीक्षण सेवा दिने भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् ।
‘यो उमेरका व्यक्तिहरूमा नसर्ने रोगलाई लक्षित गरी ब्लड प्रेसर, ब्लड सुगर र मिर्गौलाको परीक्षण गर्ने छौँ,’ भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले भने । महानगरपालिकाको २९ वटै वडामा करिब ६ सय टोलका घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने उनले बताए । यसका लागि टोल विकास समितिका संस्था र महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहयोग लिने सुवेदीको भनाइ छ ।