काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष सुबोध शेर्पालीले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको बताएका छन् । माओवादीमा मात्रै नभई देशका समकालीन नेतामा ‘प्रचण्ड’को विकल्प नरहेको उनको दाबी छ ।
उनले भने, ‘सामाजिक सञ्जालमा मूल नेतृत्व वा अन्य नेतृत्वलाई विभाजित गर्ने गरी यो गुट र त्यो गुट भनेर गरिएको प्रचारमा कुनै तुक छैन । यस्ता किसिमको प्रचारप्रसारले कोही भ्रममा पर्न जरुरी पनि छैन ।’
आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको भावना र निर्णयबमोजिम ‘प्रचण्ड’ नेतृत्वमा सबै एकताबद्ध बनेको उनले बताए ।
उनले थपे, ‘अन्य कम्युनिस्ट क्रान्तिकारी वामपन्थी पार्टीहरूसँग एकता गर्ने योजनामा पार्टी अघि बढेको बेला आन्तरिक शक्ति कमजोर पार्ने खालको पछि नलागी प्रचण्डको नेतृत्व एक ढिक्का पार्टी निर्माण आजको मुख्य आवश्यकता हो ।’
अध्यक्ष शेर्पालीले पार्टीभित्रकै एकाध व्यक्तिले आफैँ रिपोर्टर,आफैँ फोटोग्राफर र आफैँ विश्लेषक बनेर मिडियामा गोयबल्स शैलीको प्रचार गरेको र आफूलाई जनार्दन टिममा राखेर मिडियाबाजी गरेको आरोप समेत लगाएका छन् ।